रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ ।
नगरपालिकामा कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।
‘नागरिक एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहांहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिड्न हामीलाई नैतिकताले दिएन,’ उनले भने– ‘नगरवासीहरु उपचारका लागि अस्पताल पुग्न नसक्ने अवस्थामा हामी गाडी चढेर के गर्ने रु त्यसैले हामी चढने गाडी एम्वुलेन्स बनायौंं ।’
प्रमुख घिमिरेले लु १ झ ३६० नम्बर र उपप्रमुख जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आएका थिए । यी दुवै गाडीहरु आजबाट तिलोत्तमाका सर्वसाधारणको उपचारका लागि प्रयोग हुनेछन् ।
गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको घिमिरेले जानकारी दिए । नगरपालिकाले यसअघि वडा १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्यचौकीलाई अन्यत्र व्यवस्थापन गरी अक्सिजनसहितको आइसोलेसन अस्पतालको रुपमा संचालनमा ल्याइसकेको छ ।
तिलोत्तमा नगरपालिका रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित भेटिएको पालिका हो । तिलोत्तमामा १ हजार ६ सय सक्रिय संक्रमित छन् । अहिले ४० शय्याको आएसोलेसन अस्पताल रहेको तर त्यसले नथेगेपछि केही दिनमा ६० शय्याको बनाउन लागिएको छ ।
– नेपालप्रेस