काठमाडौं : देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन् ।
प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन् । बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन् ।
संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ। ५ जना आइसीयूमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
पुरीका अनुसार कोरोनाको पहिलो लहरमा देशभर ३०० पत्रकार संक्रमित रहेका थिए । जसमध्ये ५ जनाको मृत्यु भएको थियो। दोस्रो लहरमा २ जना पत्रकारको मृत्यु भइसकेको छ ।
दोस्रो लहरमा कोरोनाबाट पत्रकार थप जोखिममा रहेको उनले बताएका छन् ।
पत्रकार महासंघमा होल्डिङ सेन्टर
महासंघले कोभिड–१९ को जोखिममा रहेका पत्रकारहरूका लागि ९ शय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । महासंघको केन्द्रीय कार्यालय सञ्चारग्रामस्थित अतिथि गृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरमा रुपान्तरण गरिएको पुरीले बताए ।
‘फ्रन्टलाइनमा खटिएका पत्रकारलाई कोरोना संक्रमण भएमा वा जोखिममा रहेमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि ९ शय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको हो,’ उनले भने ।
कोभिड संक्रमण पुष्टि भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरूलाई होल्डिङ सेन्टरले सुविधा उपलब्ध गराइने पुरीले जानकारी दिए ।
उनका अनुसार सेन्टरमा ज्वरो र अक्सिजन मापन गर्ने सुविधाका साथै स्वस्थ खानेपानी र खानाको समेत व्यवस्था गरिएको छ ।
- थाहा खबर