काठमाडौं : एमाले नेता माधवकुमार नेपाल समूहको सामूहिक राजीनामा आजको लागि रोकिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएका विष्णु पौडेल र सुवास नेम्वाङसँग भेटेपछि राजीनामा रोकिएको हो ।
ओलीले आफ्नो कदम नसच्चाए नेपाल समूहले आज सामूहिक राजीनामा गर्ने निर्णय गरेको थियो । तर, संसद् सचिवालयमा माधव समूहको सांसद् उपस्थित हुन थालेपछि ओलीले आफू पक्षका दुई नेतालाई पठाएका थिए ।
दुवै पक्षले आ-आफ्नो कुरा राखेको भए पनि कुरा मिल्न सकेको छैन । नेता नेपाललाई भेटेर फर्केपछि नेता पौडेलले राजीनामाबारे विचार गर्ने आश्वासन दिएको बताए ।
उनले सञ्चारकर्मीहरूसँग भने, ‘उहाँले राजीनामाबारे विचार गर्छु भन्नुभएको छ । उहाँहरु विनाशको बाटोमा जानुहुन्छ भन्ने मलाई लागेको छैन ।’
यस्तै बैठकपछि नेम्वाङले पनि माधव समूहको राजीनामाको कुरा चर्चा मात्रै भएको बताए । उनले भने, ‘राजीनामको विषयलाई चर्चा मात्रै हो । हामीले उहाँलाई सोधेका थियौँ। तर, उहाँले पनि त्यसबारेमा थाहा पाएजस्तो गर्नुभएन । म सबैकुरा सकारात्मक मात्रै देख्छु ।’
ओली पक्षका नेता पौडेल र नेम्वाङ निस्केपछि नेता नेपालले आफू पक्षका सांसदहरुसँग छलफल चलाइरहेका छन् ।