काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष बामदेव गाैतमले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी विभाजन गरे त्यही समूहमा लाग्ने बताएका छन् ।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा गौतमको धारणा स्ट्याटसकाे रूपमा राख्दै पार्टी विभाजन भए नेपाल समूहमा लाग्ने बताएका हुन् ।
पार्टीमा देखिएकाे समस्या समाधान गर्न गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् । २ जेठ ०७५ मा फर्कन गरेको आग्रह अस्वीकार गरेकाले ओलीसँग रहन नसक्ने जवाफ गौतमले दिइसकेकाे सुवेदीले स्ट्याटसमा लेखेका छन् ।
सुवेदीका अनुसार गौतमका दुई धारणा यस्ता छन् :
१. ओलीसँगको कुराकानीबारे
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग उहाँले नेकपा ९एमाले०को स्थिति ०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’ यसको प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।
२. माधव नेपालहरूका सन्दर्भमा
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरूले नेकपा (एमाले)मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरूले चाहे संसद्को ४० प्रतिशतसहित वा त्योबाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।