टुडेखोज, जनकपुरधाम :
निषेधाज्ञा जारी रहेको महोत्तरीको जलेश्वर नगरपालिकाको केहि क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले पूर्ण रुपमा बन्द गरेको छ ।
केहि दिनभित्रै आधा दर्जन कोरोना संक्रमितको मृत्यू भएपछि जलेश्वरका केहि क्षेत्रलाई पूर्ण रुपमा बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए । उनले जारी गरेको सूचना अनुसार जलेश्वर बजारको मिना बजार तथा आसपास क्षेत्र, साहुजीपट्टी र महादेव मन्दिर क्षेत्रलाई पूर्ण रुपमा बन्द भएको छ ।
जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन समितिले आज विहान ६ बजेदेखि सो क्षेत्रलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । निर्णयको बर्खिलाप गरेमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
महोत्तरी जिल्लाभर वैशाख २२ गतेदेखि नै निषेधाज्ञा जारी छ । ‘निषेधाज्ञाका बेला पनि साँझ–विहान सर्वसधारण चिया नास्ता खाने बहानामा बजारमा भीडभाड गर्दै आएको थियो’, उनले भने, ‘अब बिना अत्यावश्यक काम बाहेक सडकमा निस्किनेलाई कारबाही हुन्छ ।’
पूर्ण बन्द गरिएको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले पूर्णरुपमा प्रयासरत छन् । तर सर्वसधारण भने बजारमा भीडभाड गर्दा कोरोना संक्रमण झन तीब्र गतिमा बढिरहेको छ ।
