टुडेखोज, जनकपुरधाम :
जनता समाजवादी पार्टी (जसपा)मा विवाद चर्केको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउने सहमती गरेपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधर नेताहरु आक्रोशित बनेका हुन् ।
मंगलवार सञ्चारकर्मीसँग कुरा गर्दै जसपा बरिष्ट नेता राजेन्द्र महतोले अध्यक्ष उपेन्द्र यादवलाई साधारण सदस्यबाट समेत हटाउन सकिने धम्की दिएका छन् । उनले पार्टीको आधिकारिक धारणाविपरित वैकल्पिक सरकार गठन गर्ने भनेर गठबन्धन बनाएर उपेन्द्र यादव अक्षम्य अपराध गरेको बताए ।
‘सत्ता स्वार्थमा लागेकाले उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासनसम्मको कारवाही हुनसक्छ’, महतोले भने, ‘पार्टी भनेको एउटा व्यक्ति उपेन्द्र यादवको मात्र होइन् ।’
जसपाको प्रथम अध्यक्ष महन्थ ठाकुर रहेकाले उनको हस्ताक्षर मात्र पार्टीको आधिकारिक हस्ताक्षर हुने महतोले जिकिर गरेका छन् । ‘प्रथम अध्यक्ष ठाकुरले भनेको कुरा मात्र पार्टीको आधिकारिक धारणा हुन्छ’, उनको भनाई छ ।