काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनीहरु प्रधानमन्त्री ओलीलाई भेटेर आज शीतल निवास पुगेका थिए ।
महन्थ र राजेन्द्रले राष्ट्रपति भण्डारीलाई भेटेर वैकल्पिक सरकार गठनबारे पार्टीभित्र विवाद रहेको जानकारी गराएका छन् । महन्थ निकट नेताका अनुसार नयाँ सरकार गठनबारे उपेन्द्र यादवको व्यक्तिगत विचार मात्र भएको जानकारी राष्ट्रपतिलाई दिइएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादव नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर सरकार बनाउने कसरत गरिरहेका छन् । तर महन्थ र राजेन्द्रले वर्तमान केपी शर्मा ओलीकै सरकारलाई निरन्तरता दिनुपर्ने भन्दै उपेन्द्रलाई रोक्ने प्रयास गरिरहेको स्रोतले जनायो ।