टुडेखोज, जनकपुरधाम : प्रदेश २ को वीरगञ्जबाट ८२ लाख ५० हजार रुपैयाँसहित तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका ३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्ने भारत विहार मोतिहारी रक्सौल(१८ ठेगाना भएका २७ वर्षीय विकास कुमार, भारत विहार मोतिहारी रक्सौल(९ ठेगाना भएका २२ वर्षीय गुड्डु कुमार, भारत विहार मोतिहारी ठेगाना भएका १८ वर्षीय किशोर र बारा महागढी नगरपालिका(४ ठेगाना भएका १८ वर्षीय किशोर छन् । उनीहरु हुण्डी कारोबारी रहेको प्रहरीले जनाएको छ ।
विकास कुमारसमेतका व्यक्तिहरूले हुण्डी गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बारा घर भएका १८ वर्षीय किशोरलाई आदर्शनगर चोकबाट २५ लाख रुपैयाँसहित फेला पारी पक्राउ गरेको थियो ।
अनुसन्धान गर्ने क्रममा विकासको डेरा तलासी गर्दा दुईवटा कालो झोला र दुईवटा हेल्मेटभित्र लुकाइ राखेको थप ५७ लाख ५० हजार रुपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट ना ८ प ४८९७ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
