टुडेखोज, जनकपुरधाम : जनकपुरस्थित काब्या होस्पिटलमा कोरोनाका २९ विरामी अक्सिजनको सपोर्टमा उपचाररत छन् । तर होस्पिटलमा अक्सिजन विहान ३ बजेसम्म पुग्ने मात्र थियो ।
अक्सिजन सकिन लागेको जानकारी क्लोथ बैंकका टिमले थाहा पाए । लगत्तै क्लोथ बैंकका टीम होस्पिटल पुगेर अक्सिजन उपलब्ध गराए र २९ जना विरामी मृत्यूको मुखबाट फर्केका छन् । हुन त अहिले पनि संकट टरेको छैन ।
क्लोथ बैंकसँग आवद्ध जसपाका यूवा नेता प्रशान्त झा भन्छन्, ‘राति २ बजे हामीले क्लोथ बैंकबाट तीन थान ठूलो र ढल्केबर उधोगबाट पाँच थान अक्सिजन सिलिण्डर सबै विरामीलाई बिहानसम्म पुग्नेगरी ब्यबस्थापन गर्यौ । तर विहान अक्सिजनको थप व्यवस्थापन गर्न नसकिए समस्या हुन्छ ।’
यूवा नेता झाले जनकपुरधाम उधोग वानिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको विशेष पहलमा काब्या होस्पिटलमा अक्सिजन उपलब्ध गराएको उल्लेख गरेका छन् । उनले क्लोथ बैंकले पछिल्लो समय विभिन्न दातृ निकायबाट अक्सिजन मागेर कोरोना संक्रमितको ज्यान बचाउने अभियान चलाएकोमा अध्यक्ष राजिव झालाई पनि धन्यवाद दिएका छन् ।
जनकपुरमा पनि अक्सिजनको अभाव हुनुले अवस्था भयावह हुने जोखिम बढेको छ । प्रदेश सरकारले संघ सरकारसँग ४ हजार ग्यास सिलिण्डर माग त गरेको छ तर कहिले आउने हो भन्ने कुरा थाहा छैन । अक्सिजनको वैकल्पिक व्यवस्था मिलाउन सम्बन्धित सबै निकायले चासो देखाउन आवश्यक छ ।