काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय लिएको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले उनीहरुमाथिको कारबाही फुकुवा गरेको छ । पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।
एमालेमा नेपाल पक्षले तत्कालीन एमाले र माओवादी केन्द्र एक भएको ०७५ जेठ ३ अघिकै अवस्थामा फर्किनु पर्ने र २०७७ फागुनमा एमाले ब्युँतिएपछि ओलीले गरेका निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएको छ ।
प्रधानमन्त्री ओली विश्वासको मत नपाएर पदमुक्त भएपछि सोही राति राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आज राति ९ बजेसम्मको समय दिएकी थिइन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज राति ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपतिसमक्ष पेस गर्न नसेको संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन् ।