काठमाडौं : केपी शर्मा ओलीको विकल्पमा अर्को सरकार बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले गरेको प्रस्ताव जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अस्वीकार गरेका छन् ।
सभापति देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । त्यहाँ देउवाले ठाकुरलाई नयाँ सरकार बनाउन प्रस्ताव गरे । तर ठाकुरले समर्थन जनाउन नसक्ने जवाफ दिएको स्रोतले जनायो ।
जसपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको कुरा देउवालाई अवगत गराएका छन् ।
यता उपेन्द्र यादव पक्षले भने देउवालाई प्रधानमन्त्री बनाउन तयार छन् । पार्टीमा उपेन्द्र यादवसँग बहुमत रहेको र देउवालाई प्रधानमन्त्री बनाउने निर्णय समेत भइसकेको एक साँसदले बताए । ति साँसदका अनुसार महन्थ ठाकुर अल्पमतमा परेकाले बहुमतको निर्णय स्वीकार गर्नुको विकल्प छैन ।