काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईपक्षले पार्टीको संसदीय दलको नेता चयन नभएको बताएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समितिका प्रकाश अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
विज्ञप्तिमा पार्टीको संसदीय दलको नेता चयन भएको भनी सञ्चारमाध्यममा आएको समाचारमा सत्यता नभएको दाबी गरिएको छ । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोपक्षको बैठकले शुक्रबार पार्टीको संसदीय दलको नेतामा महतोलाई चयन गरेको थियो ।
‘जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक वैशाख ३१ गते सम्पन्न भई सो बैठकले पार्टीको संसदीय दलको नेता चयन गर्यो भनी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमासमेत समाचारहरु सम्प्रेषण भएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ उपेन्द्र पक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टी संसदीदय दल हालसम्म समायोजन नभएको, दलको विधानसमेत नबनेको तथा पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदन हुनुपर्नेमा हालसम्म नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
