टुडेखोज, जनकपुरधाम : धनुषाको ढल्केबरमा रहेको अक्सिजन उत्पादन गर्ने ढल्केबर ग्यास प्लान्ट प्रालिको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मुख्यमन्त्री राउतले उद्योगलाई एकद्वार प्रणालीमा अक्सिजन वितरण गर्न निर्देशन दिएको उनका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए । मुख्यमन्त्री राउतले कोरोना रोकथाम तथा विरामीको सहज र शुलभ उपचारका लागि केहि नगरेको गुनासो बढिरहेका बेला उनी अक्सिजन उद्योगको निरीक्षण गरेका छन् । निरीक्षण गर्न मुख्यमन्त्री राउतसँगै प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला लगायत पुगेका थिए ।
अहिले धनुषा र आसपास जिल्लाका सबै अस्पताललाई ढल्केबर ग्याँस उद्योगले नै अक्सिजन सप्लाइ गरिरहेको छ । उद्योग र प्रशासनकै मिलोमतोमा अहिले अक्सिजनको कालोबजारी भइरहेको गुनासो सुनिन थालिएको छ । विगत तीन दिनदेखि प्रादेशिक अस्पतालमा जानुपर्ने अक्सिजन नीजि अस्पतालमा गइरहेको मेसु डा. प्रमोद यादवले गुनासो गरेका छन् ।
कोरोना संक्रमितको गम्भीर विरामीलाई अक्सिजनको आवश्यकता पर्ने गरेकाले अहिले अक्सिजनको माग उच्च छ । जताततै अक्सिजनको हाहाकार भएको छ । विरामी अक्सिजन नपाएर ज्यान गुमाउन थालेका छन् । तर अक्सिजनको व्यवस्थापन भने फितलो देखिएको छ ।
