टुडेखोज, काठमाडौं : कोरोना संक्रमितको ज्यान बचाउन गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संघका अध्यक्ष कुमार पन्तले स्वास्थ्यमन्त्री ह्देश त्रिपाठीलाई ५६० अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
सरकारलाई हस्तान्तरण गरिएका अक्सिजन सिलिण्डरमध्ये प्रदेश २ का लागि ८५ वटा छुट्याइएको एनआरएनए मलेसियाका केन्द्रीय सदस्य केशव झाले जानकारी दिए । उनका अनुसार सुदुरपश्चिमलाई १ सय, कर्णालीलाई १ सय, लुम्बिनीलाई २ सय र गण्डकीलाई ७५ थान अक्सिजन सिलिण्डर पठाइनेछ ।
यस्तै एनआरएनए मलेसियाले पनि चाँडै अक्सिजन सिलिण्डर पठाउने बुझिएको छ । अहिले संकलन गरिरहेको र चाँडै नेपाल पठाउने तयारीमा जुटेको केन्द्रीय सदस्य झाले जानकारी दिए । कुनै नेपालीको कोरोनाले ज्यान नजाओस् भनेर अहिले हरेक क्षेत्रले सहयोग गर्ने समय आएको उनको भनाई छ ।