विराटनगर : विराटनगरको विराट शिक्षण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । मोरङ बुढीगंगास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा सोमबार राति उनीहरूमाथि कुटपिट भएको हो ।
अस्पताल प्रशासनका अनुसार आकस्मिक कक्षमा छिरेर डाक्टर सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि सोमबार राति आक्रमण भएको हो । कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा भएको दुर्घटनामा परेर घाइते भई ल्याइएका दुई जनाको उपचार गरिरहेका बेला रेग्मी र बस्नेतमाथि एउटा समूहले लगातार कुटपिट र आक्रमण गरेको अस्पतालले जनाएको छ ।
आक्रमणबाट डाक्टर रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइते अवस्थाका दुवै जनाको विराटमै उपचार भइरहेको छ । चिकित्सकमाथि नै आक्रमण हुन थालेपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो ।
आकस्मिक कक्षको उपचारसमेत केहीबेर प्रभावित बनेको अस्पताल प्रशासनले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा २ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका पाँच जनाको सङ्ख्यामा रहेको समूहले उनीहरूमाथि आक्रमण गरेको हो ।
प्रहरीका अनुसार आक्रमण भएका बेला चिकित्सक र स्वास्थ्यकर्मी दुर्घटनाका घाइतेको उपचारमा व्यस्त थिए । चिकित्सकहरूमाथि आक्रमण हुनुभन्दा केहीबेर अघि बूढीगङ्गा–२ की ७३ वर्षीया बृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि परिवारका सदस्य र आफन्तले अस्पताल ल्याएका थिए ।
उनको उपचार ढिलो गरिएको भन्दै आक्रोसित बनेको समूहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले कुटपिट गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा अनिष श्रेष्ठ र निशल श्रेष्ठ छन् । उनीहरू बिरामीका नातीहरू हुन् । घटना विषयमा अनुसन्धा सुरु गरिएको प्रहरीले जनाएको छ । – सेतोपाटीबाट