काठमाडौं : कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ । रेम्डिसिभिर उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको नेपाल औषधि उत्पादक संघले जानकारी गराएको हो ।
रेम्डिसिभिर उत्पादनको अन्तिम प्रक्रियामा रहेको, नेपालमा यसको परीक्षण पास भइसकेको र अब छिट्टै उत्पादनको काम सुरु गर्ने औषधि उत्पादक संघका महासचिव विप्लब अधिकारीले जानकारी दिए । उनका अनुसार उत्पादन सुरु भएपछि कोभिड संक्रमितको उपचारमा सहज हुनेछ । अभाव समेत झेल्नु पर्दैन ।
यसअघि भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर आफ्नै देशमा संक्रमण उच्च भएपछि भारतले निर्यात बन्द गरेको थियो । वैशाख दोस्रो सातायता औषधि व्यवस्था विभागले बंगलादेशबाट रेम्डिसिभिर आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ । रेम्डिसिभिर अभावका कारण प्रतिभाइल २५ हजार सम्ममा कालोबजारी भइरहेको छ ।