काठमाडौं : कोभिड– १९ को महामारीमा अक्सिजनको कालोबजारी गर्ने तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट विदुर ३ का ३९ वर्षीय रामकृष्ण घिमिरे, मकवानपुर हेटौँडा ६ का ४२ वर्षीय नवराज खनाल र धादिङ गल्छी २ का ४२ वर्षीय रामशरण अधिकारी छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले एक थान भरिएको सिलिन्डर बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरूले १५ हजार रुपैयाँ पर्ने अक्सिजनको सिलिन्डरलाई ४१ हजार रुपैयाँमा बेच्दै आएका थिए । रंगेहात पक्राउ परेका तीनै जनामाथि कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।