टुडेखोज, सप्तरी : कोरोना संक्रमण दर बढेपछि जिल्ला प्रशासन कार्यालयको आदेशमा बैंक तथा वित्तिय संस्थाहरु पनि आजदेखि बन्द भएको छ । सात दिनका लागि बैंक तथा वित्तिय संस्थाहरु बन्द राख्न प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले आदेश जारी गरेका हुन् ।
यस्तै जिल्लाका सबै कार्यालयलाई गाडी तयारी अवस्थामा राख्न पनि निर्देशन दिएको छ । आवश्यकता परेमा सरकारी सबै गाडी कोभिड रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा प्रयोग गर्न सकिने बताइएको छ । साथै कोभिड रोकथाम तथा नियन्त्रणमा के सहयोग गर्न सकिन्छ भन्ने कुरा तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयको इमेलमा पठाउन पनि प्रजिअ पोखरेलले निर्देशन दिएका छन् ।
सप्तरीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । दुई दिनअगाडी मात्र सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोनाबाटै निधन भएको थियो । अहिले सक्रिय संक्रमित पनि तीब्र गतिमा बढ्न थालेपछि प्रशासनले स्वास्थ्य सतर्कता अपनाउन सबैसँग अनुरोध गरेको छ ।
