काठमाडौं : सात गैर साँसदको मन्त्री पद खारेज भएको केहिघण्टा नबिन्दै जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ट नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे । प्रधानमन्त्री निवास बालुवाटार पुगेका कारण जसा अध्यक्ष ठाकुर र नेता महतोको अनेक टिकाटिप्पणी सुरु भयो । तर उनीहरु संविधान संशोधन गराउने विषयमा भेट गर्न पुगेको कुरा बाहिर आएको छ ।
प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको हो । यो कुराको पुष्टि जसपा नेता सुरेन्द्र झाले गरेका छन् । उनले संविधान संशोधनका लागि कार्यदल अथवा मस्यौदा समिति बनाउने सैद्धान्तिक सहमति भएको बताए । ठाकुर निकट नेता झा भन्छन्, समितिको नाम जे राखिए पनि त्यो संविधान संशोधनकै लागि हो । कार्यदलको घोषणा आज हुन्छ होला । उहाँहरूबीच जे–जस्ता सहमति भएका छन् ती सबै आज सार्वजनिक हुन्छन् ।’
यो विषयमा सहमति भए ठाकुर-महतोले उठाउँदै आएका माग सम्बोधन हुन्छन् । यस्तो अवस्थामा ओली नेतृत्वको सरकारमा जाने घोषणा यसअघि नै ठाकुर–महतो पक्षले गरिसकेको छ । आफूहरूसँग १८ जनाभन्दा बढी सांसद भएको ठाकुर महतो पक्षको दाबी छ । एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसदको समर्थन भए पुग्छ ।
तर सांसद संख्या नपुगेमा महन्थ ठाकुरलाई नै सहमतीय सरकारको प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पनि तयारी भएको बुझिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षकै एक साँसदले सहमतीय सरकारको प्रधानमन्त्रीमा ठाकुरलाई प्रस्ताव गर्ने स्पष्ट पारेका हुन् । उनका अनुसार यो कुराको सहमती पार्टीमा भइसकेको छ ।