काठमाडौं : कोभिड–१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘नेपालमा पनि फाट्टफुट्ट देखिएको छ । अहिलेसम्म हामीकहाँ तीन–चारवटा रिपोर्ट आएको छ।’
उनका अनुसार काठमाण्डू र प्रदेश २ को सीमावर्ती सहर वीरगन्जका बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ । भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो ।
कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ । रेटिना विशेषज्ञ डा. नीतिन तुल्स्यान भन्छन्, ‘म्यूकोर माटो, धूलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ। यो एउटा स्पोरको रूपमा हुन्छ ।’
नाङ्गो आँखाले देख्न नसकिने ससाना बाटुलो आकारको स्पोरले निश्चित शारीरिक अवस्थामा आक्रमण गरेपछि म्यूकर्माइकोसिस हुने उनी बताउँछन् । फ्यामिली फिजिशन तथा आकस्मिक रोग विशेषज्ञ डा. उदयनारायण सिंहका अनुसार मानिसको शरीरमा रोगप्रतिरोधी क्षमता एकदम कमजोर भएको बेला यो सङ्क्रमण हुन्छ । ‘म्यूकोर्माइकोसिसले विशेषगरी हाम्रा आँखा, नाक, फोक्सो र साइनसमा असर गर्छ। कहिलेकाहीँ यसले हाम्रो दिमागमा पनि जटिलता निम्त्याउँछ,’ उनले थपे ।
रेटिना विशेषज्ञ डा. तुल्स्यानका अनुसार म्यूकोर्माइकोसिसका कारण आँखा नै गुमाउनुपर्ने अवस्था निम्तिन सक्छ । ‘यदि समयमै यसको उपचार गराइएन भने दृष्टि गुम्ने मात्रै होइन आँखा नै झिकेर फाल्नुपर्ने अवस्था आउन सक्छ,’ उनी सजग गराउँछन् । यो कालो ढुसीले हाम्रो आँखा भएको खोपिल्टोलाई सङ्क्रमित गर्छ। आँखाभित्र त्यसले मासुको जस्तो काम गर्छ जसका कारण हाम्रो आँखा नै बाहिर आइदिन्छन् र काटेर फाल्नुपर्ने हुन्छ । – बीबीसी