झापा : घरमा धुमधामका साथ विवाहको आयोजना गरेको केही दिनभित्रै बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । दुवै जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
झापाको गौरादह नगरपालिका ४ निवासी ३० वर्षीय सन्तोष ताजपुरियाको विराटनगरस्थित कोसी कोभिड अस्पतालमा शुक्रबार राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । ताजपुरियाले महिना दिनअघि मात्र विवाह गरेका थिए । उनको आमा शान्तिदेवी ताजपुरियाको वैशाख २३ गते मृत्यु भएको थियो । आमाको पनि कोरोना सङ्क्रमणबाटै मृत्यु भएको छ । उनको घरमा वैशाख १० गते विवाह भएको थियो ।
विवाह सकिएलगत्तै केही दिनभित्रै सन्तोष, उनकी नवदुलही, आमासहित परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएपछि सन्तोष वैशाख २४ गतेदेखि उपचाररत थिए । शुक्रबार राति सन्तोषको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए ।
सन्तोषकी श्रीमतीको पनि कोसी कोभिड अस्पतालमा उपचार भइरहेको छ । मानिसको भिडभाड हुनेगरी घरमा भएको विवाहबाटै संक्रमण फैलिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए । नयाँ भेरियन्टबाट गौरादहमा पाँच जनाको मृत्यु भइसकेको जनाइएको छ । – थाहा खबरबाट