काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन अपरिहार्य भएकाले तयारीमा जुट्न निर्वाचन आयोगका पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
मध्यावधि निर्वाचन घोषणा गरेको १२ घण्टा नबित्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र अन्य पदाधिकारीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले तयारीमा जुट्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘निवार्चन अहिलेको अपरिहार्य आवश्यकता हो, अपरिहार्य भएकाले नै मुलुक यसरी निर्वाचनतर्फ अघि बढ्दैछ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै थापाले भने । प्रधानमन्त्रीले घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न पनि भनेको थापाको भनाई छ ।
संविधानको धारा ७६ को उपाधारा ५ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राष्ट्रपतिसमक्ष पेश गरिएको दावीमा बहुमत पुर्याउने आधार नदेखिएको राष्ट्रपतिको कार्यालयले जनाएको थियो ।
त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले मध्यावधि निर्वान गर्न सिफारिस गरेपछि शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।