जनकपुरधाम : शुक्रबार मध्यराति संविधानमाथि धावा बोल्दै गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको अवैधानिक घोषणाको देशभर विरोध सुरु भएको छ । कतै राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ भने कतै विरोध प्रदर्शन भएको छ ।
नेपाली कांग्रेस स्याङ्जाले राष्ट्रपति भण्डारीको पुत्तला जलाएको छ । केवल सत्ता स्वार्थमा केपी शर्मा ओली लिप्त भएको र राष्ट्रपतिले राजनीतिक मानमर्यादा समेतको धज्जी उडाएको नेताहरुले आरोप लगाएका छन् ।
नेपाली कांग्रेस सुर्खेतले निषेधाज्ञामै कालोपट्टी बाँधेर विरोध जनाएको छ । वीरेन्द्रनगरको नेपाली कांग्रेस पार्टी कार्यालयन नजिकबाट सुरु भएको विरोध र्याली नेताचोकमा पुगेर सभामा परिणत भएको थियो । टाउकामा कालो पट्टी बाँधेरका प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको विरोध गर्दै संसद पुर्नस्थापना गर्नुपर्ने नारा लगाएका थिए ।
यता प्रदेश २ को राजविराज, जनकपुरधाम लगायतका शहरमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको विरोध गरिएको छ । राजविराजमा माओवादी केन्द्रका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । सुनसरीको धरानमा जसपा उपेन्द्र यादव पक्षले राष्ट्रपतिको पुतला जलाएका हुन् ।