काठमाडौं : नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगिसकेको अवस्थामा नेपाल–खनाल समूहका नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने तयारीमा रहेको संकेत गरेका छन् ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध आन्दोलनका लागि प्रतिपक्षी दलसँग सहकार्यमा रहेको यो पक्षले अन्ततः नयाँ पार्टी गठन गर्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि त्यसको विरोध गर्दै समूहले विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।
यी घटनाक्रमसँगै पार्टी पुनस् लगभग विभाजनको अवस्थामा पुगेको हो । नेपालले अध्यक्ष केपी शर्मा ओलीले नै पार्टीलाई फुटको दिशातर्फ धकेलेको आरोप लगाएका छन् । ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने स्थायी कमिटीको निर्णय भएको बताउँदै नेपालले ओलीको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेको जनाए ।
त्यसैगरी केही दिनअघि गठन भएको पार्टी एकता कार्यदलको औचित्य पनि ओलीले सकाइदिएको नेपालको आरोप छ । कार्यदल बनेपछि त्यसपछिका ठूला निर्णय लिँदा सल्लाह गरेर अघि बढ्नुपर्ने तर ओलीको एकलौटी ढङ्गले निर्णय लिने स्वभाव परिवर्तन नभएको नेपालले बताए । ओलीले नै पार्टीलाई फुटको दिशातर्फ धकेलेको र नयाँ पार्टी खोल्न बाध्य पारेको नेपालको भनाई छ ।