सिरहा : जिल्ला प्रशासन कार्यालय सिरहाले अटोमेटिक स्यानीटाइजर डिस्पेन्सर खरिद गरी विभिन्न कार्यालयलाई वितरण गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कोभिड कोषबाट डिस्पेन्टर खरिद गरी वितरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।
सिरहा नगरपालिकालाई ६ थान, स्वास्थ्य कार्यालयलाई १ थान, शेर गण र मातहतलाई ३ थान, जिल्ला प्रहरी कार्यालय र मातहतलाई ६ थान, सशस्त्र प्रहरी वल सिरहा र मातहतलाई ९ थान, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयलार्य १ थान र जिल्ला प्रशासन कार्यालयलाई ६ थान अटोमेटिक स्यानीटाइजर डिस्पेन्सर वितरण गर्ने निर्णय भएको प्रजिअ कणेलले बताए ।
यस्तै नेपाल रेडक्रस सोसाइटीले सिरहा अस्पताललाई दिएको स. १ च. ३७६ नम्वरको एम्बुलेन्स तत्कालै मर्मत गराएर शव वाहनको रुपमा प्रयोग गरिने निर्णय गरिएको छ । अहिले एम्बुलेन्स मर्मतका लागि चौधरी अटो वर्कशप लहान पठाइएको छ । मर्मतका लागि ४७ हजार १९० रुपैया खर्च लाग्ने र उक्त स्टिमेट खर्च अनुसारको रकम जिल्ला प्रशासनकै कोभिड कोषबाट भुक्तानी दिने निर्णय पनि भएको छ ।
अब सिरहामा कोभिड विरामीका उपचार गर्ने अस्पताललाई ड्यूटीमा रहने डाक्टर, नर्स र बेड संख्या सबैले हेर्ने ठाउँमा टाँस्न प्रजिअ कणेलले निर्देशन दिएका छन् । यस्तै एम्बुलेन्स चालकको नम्वर पनि सार्वजनिक गर्न भनिएका छ । अस्पतालमा ड्युटीमा रहेका डाक्टर, नर्स र बेड संख्या थाहा नपाएर विरामी र कुरुवा समस्यामा पर्ने गरेकाले सबैले देख्ने ठाउँमा टाँस्न निर्देशन दिएको छ ।
यस्तै कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभर सुईको व्यवस्थापन जिल्ला प्रशासन कार्यालयले नै गर्ने भएको छ । अन्य अस्पतालको माग/आपूर्तिका सम्बन्धमा स्वास्थ्य कार्यालयले सहजीकरण गर्ने प्रमुख जिल्ला अधिकारी कणेलले जारी गरेको सूचनामा उल्लेख छ । रेम्डिसिभर सुई भने सरकारले तोके अनुसार ४ हजार ९ सयमा उपलब्ध गराउने बताइएको छ ।