भक्तपुर : नेकपा एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राजनीतिक निकासको एउटै सूत्र निर्वाचन भएको बताएका छन् । उनले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।
सञ्चारकर्मीहरुसँग आईतवार उनले भने, ‘जनताले एमालेलाई पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी दिएको थियो । तर पार्टीहरुबीच अस्वस्थ प्रतिस्पर्धा चल्यो । पार्टीभित्रै चलेको दूषित खेलका कारण सरकार ढाल्ने फोहोरी खेल चलेपछि राजनीतिलाई सही मार्गमा ल्याउन निर्वाचन आवश्यक भएको छ ।’
नेता बस्नेतले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको रहर नभई बाध्यता भएको स्पष्ट पारे । उनले भने, ‘दलहरुबीचको अन्तरविरोध, आपसी द्वन्द्व, अनेकौँ विकृति, विसङ्गति र सत्ताको खिचातानी बढाएर देशलाई राजनीतिक द्वन्द्वतिर लैजानुभन्दा नयाँ जनादेशमा जानु नै उत्तप विकल्प हो, प्रधानमन्त्रीले त्यहीँ बाटो रोज्नुभयो ।’
सरकरले आगामी कात्तिक २६ र मङ्सिर ३ गते घोषणा गरेको चुनावलाई सबै मिलेर सफल पार्नुपर्छ भन्दै उनले चुनावमा गएर जनतासँग मत माग्न नसक्ने, मत पाउने आशा नभएका, जनमत गुमेका, निर्वाचनमा पराजयको त्रास भएकाहरुले निर्वाचनको विरोध गरेको आरोप समेत लगाएका छन् ।