टुडेखोज, जनकपुरधाम : टिकापुर घटनामा दोषी ठहर भएर जेल जीवन विताइरहेका जसपाका साँसद रेशम चौधरी पनि रिहा हुने भएका छन् ।
उनलाई अदालती प्रक्रिया पुरा गरी रिहा गर्ने प्रधानमन्त्री केपी ओली र जसपाका महन्थ ठाकुर पक्षबीच सहमती भएको थियो । सो सहमती अनुसार सम्भवत भोलीदेखि नै उनलाई रिहा गर्ने सम्बन्धी अदालती प्रक्रिया सुरु हुने स्रोतले जनाएको छ । जसपा साँसद प्रमोद साहले पनि सो कुराको पुष्टि गरेका हुन् ।
साँसद साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब पालो कैलालीबाट निर्वाचित तर निलम्बित साँसद रेशम चौधरीको मुद्दा बहसको लागि सम्भवतः भोलि सर्वोच्च अदालतमा पेसीमा चाइनेछ ।’
जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुन मुख्य मुद्दा नै रेशम चौधरीको रिहाइलाई बनाएको थियो । महन्थ पक्षको आग्रह अनुसार प्रधानमन्त्री केपी ओलीले मधेस आन्दोलनका बेला चलाएका कतिपय मुद्दाहरु फिर्ता लिइसकेका छन् । केहि मुद्दा फिर्ता लिने प्रक्रियामा छ ।
नागरिकता सम्बन्धी समस्या समाधन आजैबाट भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश ल्याएपछि अब जनसिद्धका सन्तानले पनि नागरिकता पाउने बाटो खुलेको छ । अब सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने बुझिएको छ ।
संविधान संशोधनका लागि समेत सरकारले कार्यदल बनाइसकेका छ । रेशम चौधरीलाई रिहा गर्ने प्रक्रिया सोमवारबाट सुरु भयो भने मंगलवार जसपा महन्थ ठाकुर पक्षले ओली सरकारमा सहभागी हुने सम्भावना बढेको छ । मंगलवार नै जसपा सरकारमा सहभागी हुने र सहमती अनुसार ८ मन्त्री शपथ लिने स्रोतको दावी छ ।