काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले ५४ प्रतिशत सांसद सर्वोच्च अदालत आएको बताएका छन् । १४६ जना सांसद सोमबार दिउँसो सर्वोच्च आएको भन्दै उनले सर्वोच्चले दायाँबायाँ गर्न नमिल्ने बताए ।
‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उलंघन गरेकोले पटकपटक अदालत आउनुपर्यो,’ सर्वोच्च अदालत परिसरमा पत्रकारहरूसँग थापाले भने, ‘पटकपटक अदालत आउनु दुर्भाग्य हो ।’ अदालतले आफैँले केही महिनाअगाडि गरेको ब्याख्या र संविधानको धारा अध्ययन गर्दा प्रतिनिधि सभा पुनर्स्थापना हुने उनले बताए ।
‘हामी ज्युँदैछौं १४६ जना सर्वोच्चमा श–शरीर आयौं,’ उनले भने, ‘सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र गर्दैन । अदालतप्रति हाम्रो भरोसा छ ।’ रिट दर्ता गराउन सर्वोच्च अदालत पुगेका माओवादी, जसपा उपेन्द्र पक्ष र काँग्रेसका नेताहरु संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी ५ दलका सांसद आज सर्वोच्चमा रिट पेश गरे । बहुमत हुँदाहुँदै पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै देउवाले रिट सर्वोच्चमा पेश गरेका हुन् ।