बुटवल : निकुञ्जबाट बस्तीमा छिरेको जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका १ सर्खोल फचकपुरकी वर्ष ३७ चन्द्रा विश्वकर्माको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी शान्तबहादुर सुनारका अनुसार घरमै सुतिरहेको अवस्थामा गएराती १० बजे उनी सहित उनकी तीन वर्षीया छोरी दिपिकालााई हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट दिपीका गम्भीर घाइते भएकी छिन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठसहितको टोली बिहान घटनास्थलमा पुगेको छ । निकुञ्जले घटनाको अध्ययन गर्दै मृतकको परिवारलाई राहतको प्रक्रिया अगाडी बढाउने निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले बताए ।