काठमाडौं : गैरआवासीय नेपाली सङ्घ९एनआरएनए०ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ ।
अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो । कोरोना संक्रमितको उपचारमा जताततै अक्सिजनको अभाव भइरहेकाले सो समस्या समाधान गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरएको अध्यक्ष पन्तले जानकारी दिए ।
तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि सङ्घका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।
पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरर्रौष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न सङ्घले अनुरोध गरेको छ । विदेशबाट नेपाल फर्कदा नेपाली दूतावासबाट अनुमति लिनुपर्नेलगायतका विषयमा विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिनसमेत सरकारसँग अनुरोध गरिएको छ ।
यस्तै लामो समयदेखि नै गैरआवासीय नेपाली सङ्घले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिएकाले गैरआवासीय नेपालीको माग सम्बोधनका लागि सङ्घले नेपाल सरकारलाई अनुरोध गरेको छ ।