बीरगञ्ज : नेकपा एमालेबाट निस्कासित नेता भीम रावलको पुत्ला दहन गरिएको छ । युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रावलको पुत्ला दहन गरिएको हो । भ्रमपूर्ण प्रचार गरि सम्प्रदायिकता भड़काउन खोजेको आरोप नेता रावलमाथि लागेको छ ।
नेता दासले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजूद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं युवायुवतीहरुलाई विभिन्न वहाना र जालझेलको आडमा अनागरिक बनाईं राख्ने षड्यन्त्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी हुन् ।’
बीरगञ्जका सचेत, जागरूक एवं क्रान्तिकारी युवा साथीहरुले कोरोनाको कहरलाई मध्यनजर गर्दै सांकेतिक रुपमा अध्यादेशको विरोध गर्ने, मधेशलाई बदनाम गराउने सन्की, अराजक, नश्लवादी मानसिकतामा लिप्त नेता भीम रावलको पुत्ला दहन गरेको उनको भनाई छ ।
‘वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो किरु नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौँ’, रावलले सोमबार साँझ ट्वीट गरेका थिए ।
तर निषेधाज्ञाका बेला कार्यालयहरु बन्द रहँदा नागरिकता लिन कसरी भिड लाग्यो भन्दै मानिसहरुले रावलको चर्को आलोचना गरेपछि उनले सो ट्वीट हटाएका हुन् । ट्वीट हटाउँदै उनले लेखेका छन् ‘मैले वीरगञ्जमा नागरिकता लिनेको भिड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन । सरकारले प्रष्ट पारे भइहाल्यो । तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु ।’

