टुडेखोज, जनकपुरधाम : औषधी व्यवस्था विभागले दर्ता नरहेका उद्योगको स्यानिटाइजर प्रयोगमा रोक लगाएको छ । विभागले मात्र ६१ उद्योगबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्न सर्वसधारणमा अपिल गरेको हो । तर प्रदेश २ सरकारले भने गुणस्तरहीन स्यानिटाइजर पत्रकारलाई वितरण गरेको खुलेको छ ।
प्रदेश सरकारले नेपाल पत्रकार महासंघसँग आवद्ध प्रदेशभरीका ८ सय पत्रकारलाई स्वास्थ्य समाग्री वितरण गरिँदैछ । सो स्वस्थ्य सामग्रीमध्येका स्यानिटाइजर गुणस्तरहीन रहेको छ । आरसीपी इन्डस्ट्रिज पर्साद्वारा उत्पादित स्यानिटाइजरललाई औषधि विभागले विक्री वितरणमा रोक लगाएपनि प्रदेश सरकारले पत्रकारलाई वितरण गरिरहेको छ ।
गुणस्तरहीन स्यानिटाइजर वितरण भइरहेको विषयमा पत्रकार महासंघकै पदाधिकारीहरु अनभिज्ञ छन् । महासंघ धनुषाका एक पदाधिकारीले भने, ‘मास्क र स्यानिटाइजर त दियो । तर गुणस्तरहीन रहेको कुरा थाहा पाएन । अब यसबारे बुझ्छु ।’ यदि गुणस्तरहीन स्यानिटाइजर वितरण गरिरहेको छ भने तत्कालै रोक्नुपर्ने उनले माग पनि गरे ।
कमिशनका कारण सस्तो पर्ने गुणस्तरहीन स्वास्थ्य सामग्री प्रदेश सरकारले वितरण गरिरहेको पत्रकारहरुको गुनासो छ । स्वास्थ्य सामग्रीमा एउटा मात्र ग्लोब्स दिएको छ, जुन ग्लोब्स पनि गुणस्तरहीन रहेको छ । केहि मास्क र फेस सिल्ड पनि उक्त प्याकेजमा छ । तर ति सामग्री पनि गुणस्तरीय छैन ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले पत्रकार महासंघ प्रदेश कमिटीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । त्यसपछि जिल्ला महासंघमार्फत पत्रकारहरुलाई वितरण गरिरहेको छ । गुणस्तरहीन स्यानिटाइजर वितरण गरिरहेको विषयमा बुझ्न मन्त्री यादवलाई पटक पटक फोन गर्दा पनि उठेन ।