टुडेखोज, जनकपुरधाम : प्रदेश २ का पत्रकारलाई वितरण गरिएको स्यानिटाइजर प्रयोग नगर्न अपिल गरिएको छ । गुणस्तरहीन स्यानिटाइजर वितरण गरेको समाचार टुडेखोज डटकमले लेखेको थियो । त्यसपछि आमसञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्याम सुन्दर यादवले स्यानिटाइजर वितरण रोकेका हुन् ।
उनले नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्षहरुलाई फोन गरेर स्यानिटाइजर वितरण रोक्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघसँग आवद्ध यस प्रदेशका ८ सय पत्रकारलाई कोरोना महामारीबाट जोगाउन स्वास्थ्य सामग्री वितरण कार्य भइरहेको थियो । तर स्यानिटाइजर गुणस्तरहीन वितरण भइरहेको कुरा बाहिर आएपछि तत्काल वितरण कार्य रोकिएको छ ।
स्यानिटाइजर गुणस्तरहीन प्रकरणमा सप्लायर्स कम्पनीको बदमासी रहेको खुलेको छ । सप्लायर्स कम्पनीका कारण आमसञ्चार प्राधिकरण र प्रदेश सरकार बदनाम भएको हो । सो कम्पनीमाथि तत्कालै कारबाही अगाडी बढाउने आमसञ्चार प्राधिकरणका अध्यक्ष यादवले बताएका छन् ।