काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लले स्पष्टिकरणको जवाफ दिएका छैनन् ।
कार्यकारिणी समितिको निर्णय अनुसार उनीहरुलाई तीन दिन भित्र स्पष्टिकरणको जवाफ दिन भनिएको थियो । विहिवार सम्म उनीहरुले स्पष्टिकरणको जवाफ नदिएको जसपा कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारीले जनाए । पार्टीको निर्णय अनुसार अधिकारीले नै उनीहरुलाई स्पष्टिकरण सोधेका थिए ।
निर्धारित समय भित्र स्पष्टिकरणको जवाफ नदिए पार्टीका कार्यकारिणी समितिको बैठकले के गर्ने विषयमा छलफल गर्ने कार्यकारिणी समिति सदस्य रामसहाय यादवले बताए । ‘पार्टीको कार्यकारिणी समितिको निर्णय अनुसार सोधिएको स्पष्टिकरणको जवाफ उहाँहरुले निर्धारित समय भित्रै दिनुहुनेछ,’ उनले भने, पार्टी विधान अनुसार चल्ने भएकाले कार्यकारिणी समितिको निर्णयलाई उहाँहरुले सम्मान गर्नु हुनेछ ।’
तर जवाफ नआए फेरी कार्यकारिणी समितिको बैठकले थप निर्णयगरि अगाडीको प्रकृया थाल्ने उनले बताए । ‘पार्टीमा अनुशासन सबैले पालना गर्नै पर्छ’ यादवले भने, ‘अनुशासनको उल्लंघन गर्नेहरुलाई हदै सम्मको कार्वाही हुन सक्छ ।’
जसपाको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद अध्यक्ष बाबुराम भटटराई समुहको बहुमत छ । ५३ सदस्यीय कार्यकारिणी समितिमा २ पद रिक्त रहेको छ । ५१ मध्ये ३४ यादव–भट्टराई समुहमा रहेको दावी छ ।
ठाकुर, महतो, कर्ण र शुक्ललाई स्पष्टिकरण सोधिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरलेपनि अध्यक्ष यादवलाई स्पष्टिकरण सोधेका छन् ।तर उनले सोधेको स्पष्टिकरणमा पार्टीको कुनै निकायको बैठकको निर्णय अनुसार नभै व्यक्तिगत रुपमा पत्र काटेका छन् । ‘पार्टी विधि विधानले चल्ने भएकाले ठाकुरले सोधेको स्पष्टिकरणको कुनै औचित्य छैन्’ यादवले भने, व्यक्तिगत रुपमा कसैले स्पष्टिकरण सोध्ने होइन् ।
जसपाको ठाकुर–महतो समुह हाल सरकारमा जान आतुर छ । सरकारमा सहभागि गराउने मन्त्रीको सुची बनाउन ठाकुर र महतोलाई सकस भएको छ । २० जना निवर्तमान सांसद रहेको सो समुहबाट राज्यमन्त्री समेत बढीमा १० जना मात्र मन्त्री बन्न सक्ने संभावना छ ।
ठाकुर–महतो समुहले प्रलोभन दिएर कार्यकारिणी समिति सदस्यहरुलाई फकाउने अन्तिम प्रयासमा जुटेको छ । सो समुहले २० जना कार्यकारिणी समिति सदस्य भए पार्टी नै फुटाउने तयारीमा समेत रहेको छ । हाल १६ जना मात्र उनीहरुसित रहेका छन् ।