काठमाडौं : सामाजिक दुरी कायम गरेर वा अनलाइनबाट भएपनि माध्यामिक शिक्षा परीक्षा एसईई सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यसका लागि वैकल्पिक भनिएको अनलाइन वा सामाजिक दुरी कायम गरेर भएपनि परीक्षा सञ्चालन गर्नुपर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।
गत वर्ष परीक्षा नलिएरै आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्दा चर्को आलोचना र अस्तव्यस्त भएपछि यसपटक बोर्डले विद्यालयलाई जिम्मा दिएर परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । यद्यपी यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय आउन बाँकी छ ।
कोभिड १९ महामारीका कारण भौतिक उपस्थितीमा बोर्डले तयार पारेका प्रश्नपत्र र कापी बाँडेर परीक्षा गर्ने सम्भावना कम हुँदै गएका बेला विद्यालयबाटै परीक्षा सञ्चालन गरेर मात्रै नतिजा निकाल्ने तयारी अघि बढेको हो । एसईईका बारेमा गठित कार्यदलले दिएको सुझाव अनुसार नै यस किसीमको परीक्षा गरेर नतिजा निकाल्नेबारे तयारी गरिएको र अनुमतिका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पठाइएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयबाट अनुमति पाएमा अर्को हप्तादेखि नै परीक्षा सञ्चालनको तयारी अघि बढ्नेछ । ‘वैकल्पिक माध्यमबाट भएपनि परीक्षा गर्नुपर्छ । गएको वर्षको पाठ सिकेर अघि बढ्दा परीक्षाको विकल्प देखिदैन’ अध्यक्ष पौडेलले भने, ‘विद्यालयलाई जिम्मा दिने र वैकल्पिक माध्यमबाट परीक्षा गर्ने निष्कर्षसहित मन्त्रालयमा प्रस्ताव पठाएका छौँ ।’
सरकारले बढ्दो कोभिड १९ महामारीलाई नियन्त्रण गर्न जेठ १३ गतेदेखि सञ्चालन हुने एसईई परीक्षा बैशाख २७ गते नै स्थगित गर्ने निर्णय गरेको थियो । कोभिडका कारण कक्षा १२ को परीक्षा पनि रोकिएको छ । तत्काल वैकल्पिक माध्ययमबाट एसईई परीक्षा अगाडि बढाएर त्यसपछि महामारीको अवस्था अनुसार कक्षा १२ को परीक्षा सञ्चालन गरिने बुझिएको छ ।