काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने पक्का भएको छ । सोमबार प्रधानमन्त्री ओलीसँग अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोबीचको भेटवार्तापछि सहमति बनेपछि सरकारमा जाने पक्का भएको हो ।
राजनीति तरलताका कारणले प्रधानमन्त्री ओली सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान लागेको हुन् । प्रधानमन्त्री ओलीसँग बालुवाटारमा आफ्नो माग मुद्दाका साथै सरकारमा जाने बिषयमा पनि छलफल भएको जसपा नेता लक्ष्मणलाल कर्णले थाहाखबरलाई जानकारी दिए । ‘प्रधानमन्त्रीसँग अहिलेसम्म हाम्रो माग कति सम्बोेधन भए, कहिलेसम्म बाँकी सम्बोधन हुन्छन् भन्ने बिषयमा आज छलफल भएको छ’ उनले भने ।
सरकारमा प्रधानमन्त्री ओलीले पहिलेदेखि समावेश हुनका लागि आग्रह गरेको भएपनि अब जाने पक्का भएको उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले ८ मन्त्री र २ राज्यमन्त्री लिएर जाने बिषयमा सहमति भएको छ । अध्यक्षज्यूले सार्वजनिक रुपमा टेलिभिजनको अन्तरवार्तामा समेत बताइसक्नुभएको छ ।’
सरकार पार्टीबाट को को जाने भन्नेबारेमा टुंगो नलागेको उनी बताउँछन् । ‘सरकारमा जाने भएपछि बैठक बसेर कोको जाने भन्ने टुंगो लगाउँछौँ,’ आज भोलि नै सरकारमा जान लाग्नुभएको छ भन्ने चर्चा छ नी भन्ने प्रश्नमा उनले भने, ‘पार्टीमा छलफल गर्दा दुई चार दिन लाग्नसक्छ ।’ अध्यक्ष ठाकुर समूहले संसदीय दलको नेता चयन गरेकोे राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो । स्रोतका अनुसार नेता महतोसहित शरतसिंह भण्डारी, अनिल झालगायतको मन्त्री बन्ने चर्चा छ । अर्का अध्यक्ष उपेन्द्र यादव समूह छाडेर आएका सबै सांसदलाई मन्त्री बनाउनुपर्ने बिषयमा पनि छलफल भइरहेको बुझिएको छ ।
संसदीय दलमा बहुमत रहेको अध्यक्ष ठाकुर समूह कार्यकारिणी समितिमा अल्पमतमा छ । ठाकुर पक्षको सरकार प्रवेश नै पार्टी विभाजनको बिन्दु हुने आकलन गर्न थालिएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको बहुमतको केन्द्रीय कार्यकारिणी समितीको बैठकले सरकारमा सहभागी भए स्वतः पार्टी सदस्यता समेत नरहने गरी निलम्बन हुने निर्णय यसअघि नै गरिसकेको छ । ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत अध्यक्ष यादव कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा उभिँदै आएका छन् । प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेदेखि नै जसपामा ध्रुवीकरण सुरु भएको थियो ।
प्रतिनिधि सभा पुनःस्थापनापछि पनि महन्थ–राजेन्द्र समूह ओली नेतृत्वको सरकारको निरन्तरतामा रहिरह्यो । तर, उपेन्द्र–बाबुराम समूह भने ओली नेतृत्वको सरकार ढाल्ने प्रयासमा रहिरहेको थियो । प्रधानमन्त्री ओलीकै कारणले गत बैशाख १० गते पार्टी एकता भएको मद्येशी दल ओलीको कारणले विभाजनको अन्तिम बिन्दुमा पुगेको छ । जसजा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एकअर्काको विरोध गरि बस्नुको साटो सहमतिमा हात मिलाएर आआफ्नो बाटो लाग्नुपर्ने बताइसकेका छन् । – थाहा खबर