टुडेखोज, जनकपुरधाम : कोरोना भाइरसको संक्रमणबाट प्रदेश २ मा मृत्यू हुनेको संख्या ६९० पुगेको छ । सोमवार मात्रै प्रदेश स्वास्थ्य निर्देशनालयले २० जना मृतकको अध्यावधिक गरेको हो ।
रौतहटमा ६ जना, सिरहामा ५ जना, सप्तरीमा ६ र पर्सामा ३ जना मृतकको अध्यावधिक गरेको छ । उनीहरुको विभिन्न मितिमा मृत्यू भएको बताइएको छ । कोरोनाको दोस्रो लहरले प्रदेश २ नराम्ररी प्रभावित बनेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि यस प्रदेशका आठै जिल्लामा अहिले निषेधाज्ञा जारी छ । धनुषा र सर्लाहीले आज मात्रै चौथो पटक निषेधाज्ञाको समय थपिएको छ । संक्रमण घटेपनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गरिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस प्रदेशमा अहिले १० हजार ३९३ सक्रिय संक्रमित छन् । यसमध्ये अधिकांश घरमै उपचाररत छन् । करिब एक सयभन्दा बढी संक्रमितको आइसियूमा उपचार भइरहेको बताइएको छ । केहि दिनदेखि निको हुने दर भने बढेको छ ।