काठमाडौं : विभिन्न मुलुकमा कोरोनाभाइरसका नयाँनयाँ भेरियन्टहरु देखिन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूृएचओले)ले तिनको नामाकरण गरेको छ । अबदेखि डब्ल्यूएचओले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर नामांकरण गरेको छ ।
जहाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो । जसअनुसार आइन्दा यूके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिनेछ । यसै महिनाको सुरुमा भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको थियो ।
भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1)लाई ‘कप्पा’ नाम दिइएको छ । भारतमै फेला परेका (B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ । त्यसैले नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए ।
ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ । विश्व स्वास्थ्य सङ्गठनकी कोभिड-१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै ‘भेरियन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न’ भनेकी छन् । उनले सङ्क्रमण विस्तार रोक्न भेरियन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको बताइन् ।
अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरियन्टलाई जनाउनेछन् । तिनका नामहरूको पूर्ण विवरण डब्ल्यूएचओको वेबसाइटमा राखिएको छ । यी ग्रीक अक्षरहरूले ती भेरियन्टको पूर्ण वैज्ञानिक नामलाई विस्थापन भने गर्ने छैनन् ।
कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ । सोमवार यूके सरकारलाई सल्लाह दिने समूहका एक वैज्ञानिकले यूके कोभिड सङ्क्रमणको तेस्रो लहरको प्रारम्भिक चरणमा रहेको भनेका थिए । जसको एक कारण विगतमा भारतीय भेरियन्ट भन्ने गरिएको डेल्टा भेरियन्टको विस्तार रहेको उनले बताए ।
डेल्टा भेरियन्ट विगतमा यूके भेरियन्ट भन्ने गरिएको अल्फा भेरियन्टभन्दा चाँडो फैलने बताइन्छ । अल्फाकै कारण जाडोयाममा यूकेमा महामारी निकै फैलिएको थियो । –बीबीसी