जनकपुरधाम : प्रदेश २ को सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)मा विवाद चुलिन थालेको छ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत र भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आ–आफ्नो पक्षमा सभासदको हस्ताक्षर संकलन थालेका छन् ।
जसपा प्रदेश सभामा दलको नेता कोही नरहेकाले राउत र सोनलले आ–आफ्नो पक्षमा बहुमतको दाबीका लागि हस्ताक्षरण संकलन गरेको उच्चस्रोतले जनाए । जसपा पर्साको अध्यक्ष रामनरेश यादवले राउतको पक्षमा हस्ताक्षर संकलन गरेको स्रोतले जनाए । तर सोनल स्वयंले सभासदहरुलाई फोनगरि हालचाल सोध्ने, बजेटको विषयमा छलफल गर्ने र भेंटन सक्ने बताउन थालेका छन् ।
प्रदेश २ मा हाल सम्म प्रदेश कमिटी र प्रदेश सभामा जसपाको समायोजन भएको छैन् । प्रदेश सभामा पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) र पूर्व समाजवादी पार्टीकै नामबाट संसदीय दलको नेता, प्रमुख सचेतक लगायत अलग–अलग नै रहेका छन् ।
केन्द्रमा पार्टी विभाजनका लागि संसदीय दल र कार्यकारिणी समितिमा ४० प्रतिशत संख्या आवश्यक रहेकोछ । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा कायम रहेको राष्ट्रिय सभामा महन्थ ठाकुर–राजेन्द्र महतोको पक्षमा ४० प्रतिशत सदस्य छैन् । सप्तरी जिल्लाका मृगेन्द्र कुमार सिंह यादव र शेखर सिंहपनि अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई समुहमा लागेका छन् । उनीहरु दुबै जना पूर्व राजपाबाट निर्वाचित भएका हुन् ।
कार्यकारिणी समितिको हाल कायम रहेको ५१ सदस्य मध्ये १६ जना मात्र ठाकुर–समुहमा रहेका छन् । उच्च स्रोतका अनुसार सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीसित मध्यान्ह भएको लामो छलफलमा अध्यादेश मार्फत दल फुटाउने कानुन ल्याएर सहज बनाइदिन आग्रह गरेको थियो । त्यसैकारण जसपाबाट सरकारमा सहभागि हुनेहरुको साइत केहि दिन सरेको छ । – जनकपुर टुडेबाट