काठमाडौं : अक्सिजन उत्पादन गर्ने उद्योगहरुको छाता संगठन नेपाल अक्सिजन उत्पादक संघले अव्यवस्थित अक्सिजन वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिण्डर हराइरहेको जनाएको छ । संघका अनुसार अक्सिजन सिलिण्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिण्डर वापत धरौटी रकम जम्मा नगरेका कारण ठूलो संख्यामा सिलिण्डरहरु हराएका छन् ।
उद्योग परिसरबाट व्यक्तिगत रुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाडा वेगर सिलिण्डर लैजाँदा सिलिण्डरहरु छरिएका छन् । यसका साथै उद्योगबाट एउटा अस्पतालका लागि निस्केको सिलिण्डरको गाडी बीच बाटो र उद्योग परिसरबाटै सेना तथा सुरक्षाकर्मीले जफत गरी विभिन्न स्थानमा पु-याएका कारण अधिकाँश उद्योगको सिलिण्डर हराइरहेका छन् । बिराटनगरमा जफत गरी काठमाडौं पठाउने, बीरगञ्जमा जफत गरी बिराटनगर पठाउने प्रक्रियाले पनि सिलिण्डर हराएको र त्यसवापत पाउनुपर्ने भुक्तानी पनि उद्योगले नपाएको संघको ठहर छ ।
‘यसरी विभिन्न स्थानमा पु¥याएको फिर्ता नल्याइएका कारण उद्योगमै सिलिण्डरको चर्को अभाव भएको छ,’ संघका अध्यक्ष गौरब शारदाले भने, ‘काठमाडौंकै ८ वटा उद्योगको झण्डै ५० देखि ६० प्रतिशत सिलिण्डर कहाँ कहाँ पु-याइएको छ, त्यो बारेमा हामीले पत्ता लगाउन सकेका छैनौं । यसले गर्दा नियमित रुपमा रोटेशनमा अक्सिजन सिलिण्डर पनि अति आवश्यक स्थानमा बितरण गर्न कठिनाई भएको छ ।’
सिलिण्डर प्रयोग गरेवापत धरौटी लिने, तोकिएको समयभन्दा बढी समयसम्म राख्दा दैनिक रुपमा भाडा लिने र सिलिण्डर हराएको अवस्थामा उपयोगकर्ताबाट जरिवाना असुल गर्ने व्यवस्था नभएका कारण स्वदेशी उद्योगी मारमा परेको संघको भनाई छ । छिमेकी मुलुक भारतमा भने यस्तो सवै प्रकारको व्यवस्था भएका कारण उद्योगको सिलिण्डर हराउने घटना निक्कै कम रहेको शारदाको दाबी छ । ‘हामीले सरकारी निकायलाई पटक पटक ध्यानाकर्षण गराएका छौं । जसको सिलिण्डर छ, उसकै उद्योगमा फिर्ता गरिदिए निक्कै सहज हुन्थ्यो । सिलिण्डर फिर्ता नआउँदा उद्योगको ठूलो सम्पति हराएको छ,’ शारदाले भने ।
शारदाले आफ्नो उद्योगका लागि ५ हजार थान सिलिण्डर आयात गरेका थिए । उनको उद्योगमा अहिले २ सय सिलिण्डर खाली छन् । करिब १ हजार थान सिलिण्डर नियमित रुपमा रोटेशन प्रणालीमा घुमिरहेको छ । ‘बाँकी ४ हजार थान सिलिण्डर नभेटिएर अहिले हराइरहेका छन् । सिलिण्डर वापत भएको लगानी मेरो डुबेको छ,’ शारदाले भने । एउटा ठूलो सिलिण्डरको मूल्य २० हजार रुपैयाँ पर्छ । अक्सिजन उद्योगीको सबैभन्दा ठूलो लगानी यही सिलिण्डरमा हुन्छ ।
अस्पतालले व्यक्ति विशेषलाई चिठी दिएर उद्योगबाट अक्सिजन ल्याउन भन्दै आएको छ । अस्पतालले अक्सिजन आफै खोजेर ल्याएको अवस्थामा मात्रै बिरामीलाई भर्ना गर्ने सूचनापछि उद्योगबाट भरिएका सिलिण्डर हराउने क्रम झनै बढेको सोपान अक्सिजन तथा फर्माच्युटिकल्सका प्रवन्ध निर्देशक बसन्तचन्द्र मरहठ्ठाले जानकारी दिए । कोभिड दोश्रो चरणको लहर चर्को रुपमा बढेसँगै अक्सिजन लिन अस्पताल, सुरक्षाकर्मी, सेना, सर्वसाधारण, विभिन्न प्रकारका संस्थाको चाप उद्योग परिसरमा परेको छ । ‘यसरी उद्योगमै चाप परेपछि हामीलाई झनै सकस भएको छ, नदिउ भन्दा कतिपय रुने कराउँछन । कतिपयले गुण्डागर्दी शैली प्रदर्शन गर्छन । दिउ भन्दा सिलिण्डर फिर्ता नआउने समस्या अत्याधिक छ,’ मरहठ्ठाले बताए ।
यसवाहेक सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीच तालमेल नमिलेर दुवै निकायको एक आपसमा बाँझिने गरी फरक फरक नीति र निर्देशन आउँदा पनि उद्योगीहरु आफु पेलिएको महसुस गर्न थालेका छन् । कोटा तोक्ने काम पनि एकद्वार प्रणालीबाट छैन् । उद्योगको क्षमताभन्दा कोटा तोकिनु, जुन स्थानमा आपूर्ति छ, त्यसलार्य हटाएर बीचमै अर्को स्थानमा आपूर्ति गर्न दबाब दिनुले पनि उद्योगलाई उत्पादन र बितरण गर्न निक्कै कठिनाई भएको छ । यसले गर्दा सिलिण्डर पनि जताभावी रुपमा स्थानमा पुगेको र भुक्तानी पनि प्राप्त हुन नसकेको संघले जनाएको छ ।
‘सीसीएमसीले एउटा नीति बनाएर कार्यान्वयनमा ल्याउँछ उता स्वास्थ्य मन्त्रालयले अर्को नीति ल्याएर कार्यान्वयनमा ल्याउँछ,’ मरहठ्ठाले भने,‘यसले गर्दा हामी उद्योगी निक्कै पेलिएका छौं । कसको निर्देशन मान्ने बुझनै गाहे छ । एउटा केन्द्रिय एकद्वार प्रणाली भएको भए सबै काम गर्न सहज हुन्थ्यो ।’
अक्सिजन सिलिण्डरको उत्पादन र बितरण प्रणालीलाई व्यवस्थित गर्न एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने सबै उद्योगीको माग छ । काठमाडौैंसहित देशभरकै उद्योगमा सैनिक परिचालन गर्नुपर्छ । खोजविन गरी सबै उद्योगको सिलिण्डर संकलन गरी एकै स्थानमा जम्मा गर्नुपर्छ ।
‘केन्द्रिकृत रुपमा एकद्वार प्रणाली कार्यान्वयनमा नल्याइए उद्योगीले अब हात उठाएर उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन,’ सगरमाथा अक्सिजन उद्योगका निर्देशक नारायणदक्त तिम्लिसिनाले भने,‘एकातिर सम्पतिको नाश छ, अर्कोतर्फ उत्पादित सिलिण्डर गुण्डागर्दी शैलीमा आफुखुशी जसलाई मन लागेको छ, उसले लगेका छन् । सिलिण्डर लगेवापत भुत्तानी पनि आउने अवस्था छैन् ।’ परिचालन भएका सैनिकले कम्पनीको सिलिण्डरअनुसार सबै कम्पनीलाई सिलिण्डर पठाएर भर्ने व्यवस्था उद्योगलाई दिनुपर्छ । भरिसकिएका सिलिण्डर एकद्वार प्रणालीमार्फत अस्पतालको आवश्यक संख्याअनुसार सोझै डेलिभरी गर्ने व्यवस्था मिलाउनुपर्छ । यो व्यवस्था गर्न सकिए भएकै ग्यासलाई पारदर्शी र प्रभावकारी रुपमा प्रयोगमा ल्याउन सकिने उद्योगीहरुको एकमत छ ।
‘माग र खपतबीच ग्याप भएर पूर्ण क्षमतामा उत्पादन हुँदा पनि सिलिण्डरको खिंचातानी भएको छ,’सीता अक्सिजनका बजार व्यवस्थापक ध्रुव कार्कीले बताए । उनकाअनुसार कोभिडको समस्या निम्तिनु अघिसम्म अक्सिजन उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा थिए । ५० प्रतिशत क्षमतामा सञ्चालन हुँदा अस्पताल प्रयोजनमा १५ देखि २० प्रतिशत मात्रै अक्सिजन जान्थ्यो । बाँकी ८० प्रतिशत औद्योगिक प्रयोगमा खपत हुन्थ्यो । गत् बर्षकै कोभिडको समयमा देशभरका उद्योग २० प्रतिशत क्षमतामा मात्रै चलेका थिए ।
अहिलेको अवस्थालाई हेर्दा देशभर गरी कम्तिमा थप १ लाख २० हजार थान सिलिण्डर आवश्यक छ । यसमध्ये काठमाडौंलाई मात्रै ६० हजार चाहिन्छ । अक्सिजन उत्पादन गर्ने देशभर करिब २२ उद्योग छन् । यसमध्ये ८ वटा उपत्यकामा छन् । यि २२ वटै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि दैनिक १८ हजार सिलिण्डर मात्रै उत्पादन हुन्छ । तर माग बढेर अहिले दैनिक ७२ हजार सिलिण्डरभन्दा बढी पुगेको छ ।
०००
कवाडीमा जान्छ सिलिण्डर
संघका अध्यक्ष शारदाकाअनुसार उद्योगले भरिएका सिलिण्डर अस्पताललाई उपलब्ध गराउछ । तर अस्पतालका गार्ड र तल्लो निकायका कर्मचारीको मिलोमतोमा बढी रकम लिएर अन्य वा कवाडीलाई सिलिण्डर बिक्री गरिदिने प्रवृति बढेको छ । गृह मन्त्रालयले हालै विभिन्न स्थानमा छापा मारेर एक दिनमै करिब ८ हजार थान सिलिण्डर फेला पारेको थियो । यसमध्ये सबैभन्दा बढी कवाडीबाट सिलिण्डर बरामद संकलन गरेको शारदाको भनाई छ । अक्सिजन सिलिण्डर कवाडीमा बिक्री गर्ने प्रवृति मौलाएकाले यसलाई निरुत्साहित गर्नुपर्छ । कवाडीमा कसरी कुन माध्यमबाट ठूलो परिमाणमा सिलिण्डर पुगेको बिषयलाई गम्भिर रुपमा छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने उनको माग छ । ‘अस्पताल प्रणालीबाटै सिलिण्डर हराएर कवाडीमा गएको हाम्रो ठहर छ,’ शारदाले भने,‘सिलिण्डर उपभोग गरेवापत धरौटी राख्ने र भाडा लिने व्यवस्था नहुँदा यस्तो समस्या आएको हो ।’
०००
लागत खर्च बढ्यो
कोभिडको संक्रमण बढ्दो दरका कारण अक्सिजनको अभाव हुन थालेपछि अहिले उद्योगलाई उत्पादन क्षमता बढाउन पनि दबाब परेको छ । यसका लागि उद्योगमा अहोरात्र कामदारहरु काम गरिरहेका छन् । उद्योग परिसरमै सर्वसाधारण, अस्पताल, सुरक्षाकर्मीसहित विभिन्न निकायको भिड जम्मा हुँदा उद्योग परिसरमा पनि कोभिडको संक्रमण फैलिने खतरा उत्पन्न भएको छ । तर उद्योगमा कार्यरत कामदारका लागि सरकारबाट खोपको कुनै व्यवस्था गरिएको छैन ।
अहोरात्र काम गर्ने कामदारलाई अतिरिक्त भत्ता दिनुपर्ने हुन्छ । उनीहरुलाई थप प्रोत्साहन खर्च दिंदा उत्पादन लागत खर्च बढेको छ । लागत खर्च अनुसार अक्सिजनको मूल्य बृद्धि गर्दा कालोबजारी गरेको आरोप लगाइने संघका उपाध्यक्षसमेत रहेका मरहठ्ठाले जानकारी दिए ।
यसका साथै एक ट्रिप गाडीमा पहिले ५० देखि ६० वटा सिलिण्डर सम्बन्धित स्थानमा डेलिभरी हुन्थ्यो । तर सिलिण्डरको संख्या कम भएर अहिले एक ट्रिपमा १० देखि १५ वटा सिलिण्डरमात्रै डेलिभरी गर्नुपर्छ । पहिले थोरै भाडादरमा धेरै सिलिण्डर एकै पटक डेलिभरी हुन्थ्यो । तर अहिले थोर थोरै सिलिण्डर डेलिभरी गर्दा भाडा दर धेरै खर्च हुँदा पनि लागत खर्च बढेको छ । यस्तै कामदार बिरामी हुँदै विकल्पमा अर्को कामदार बढी मूल्यमा राख्नुपर्ने समस्या पनि आएको छ । यस्ता कारणले लागत खर्च बढेको उद्योगीको भनाई छ ।
नेपालमा अक्सिजनसहितको ठूलो सिलिण्डरको बिक्री मूल्य अधिकतम साढे ४ सय रुपैयाँ तोकिएको छ । तर भारतमा त्यही सिलिण्डरको मूल्य १ हजार भारतीय रुपैयाँ छ । यसबाहेक सिलिण्डर लग्दा धरौटी राख्नुपर्ने, प्रति दिन भाडा छुट्टै र सिलिण्डर हराएमा वा तोकिएको समयमा फिर्ता नगर्दा जरिवाना छुट्टै लाग्ने व्यवस्था छ । ‘यस्तो वेलामा लागत खर्च घटाउन र उद्योगलाई प्रोत्साहन दिने उद्देश्यले सरकारले खाना पकाउने ग्यासमा अनुदान दिएजस्तै ज्यान जोगाउने अक्सिजन प्रति सिलिण्डरमा १ सय ५० देखि २ सयसम्म अनुदानको व्यवस्था मिलाइदिने उद्योगीले ठूलो राहत पाउने थियो,’ शारदाले भने ।
०००
तत्कालै क्षमता बिस्तार असम्भव
उद्योगीका अनुसार अक्सिजन उत्पादन गर्ने उद्योगको मागअनुसार क्षमता विस्तार गर्न तत्कालै निक्कै कठिन छ । उद्योग स्थापना गर्न आवश्यक पर्ने मेसिन आइपुगे पनि कम्प्रेसरको फाउण्डर निर्माण गर्न कम्तिमा २ महिना लाग्छ । उत्पादन गर्न ४ महिनासम्म लाग्न सक्छ । केही पुरानो र बन्द रहेको उद्योगको मर्मत सम्भार गरी केही परिमाणमा उत्पादन बढाउन सकिएपनि ठूलो संख्यामा भने गाहे छ । शारदाकै बिराटनगरस्थित बन्द भएको उद्योगलाई मर्मत सम्भार गरी गरी अहिले सञ्चालनमा ल्याइएको छ । कवाडीको हातबाट बिक्री गर्न लागिएको उक्त उद्योग सञ्चालनमा ल्याएर अहिले प्रति दिन २ सय ५० थान सिलिण्डर उत्पादन गर्न लागिएको छ ।
यस्तै सीता अक्सिजन उद्योगले पनि अहिले गत् माघ फागुनदेखि अर्को उद्योग स्थापनाको प्रक्रिया सुरु गरेको छ । यो उद्योग सञ्चालनमा आयो भने दैनिक २ हजार २ सयको संख्यामा सिलिण्डर उत्पादन हुन सक्छ । बिकल्प भनेको लिक्विडमा आधारित अक्सिजन हो । यसका लागि विशेष प्रविधिसहितको ट्याँकरको चर्को अभाव छ । सरकारले बिशेष सुविधा दिएर कम्तिमा देशभरलाई पुग्ने गरी १० वटासम्म यस्तो ट्याँकर व्यवस्था गर्न सकिए विभिन्न स्रोतबाट लिक्विड अक्सिजन ल्याउन सकिन्छ । ल्याइएको यस्तो लिक्विड अक्सिजनलाई सोही रुपमा वा ग्यासमा परिवर्तन गरी उपभोग गर्न सकिने सीता अक्सिजनका बजार व्यवस्थापक ध्रुव कार्कीले जानकारी दिए ।