काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईको समूहले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट हटाएको छ ।
आज बोलाएको पार्टीको कार्यकारिणी समितिको बैठकबाटै अध्यक्ष ठाकुर र नेताहरुलाई कारबाही गरेको हो । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघि नै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टीकरण सोधिसकेको थियो ।
भट्टराई–यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ । ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छ । ठाकुर पक्षले पनि सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो पक्षका बैठक बोलाएको छ ।