काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पार्टीमा आफूहरू बहुमतमा भएको दावी गरेको छ ।निर्वाचन आयोगमा बहुमत सदस्य संख्या आवश्यक परेको बेला उक्त संख्या पुर्याउन आफूहरू सक्षम रहेको ठाकुर पक्षका नेता डा. सुरेन्द्र झाले दावी गरेका हुन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले बहुमतको आधारमा अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट हटाए । लगत्तै महन्थ पक्षले पनि उपेन्द्र यादवलाई पार्टीबाट हटाए । दुवै पक्षले निर्वाचन आयोगमा पत्र पठाएर एक अर्कालाई हटाउन दावी पनि पेश गरे ।
अब बहुमतको आधारमा निर्वाचन आयोगले पार्टीको आधिकारिकता प्रदान गर्ने बुझिएको छ । उपेन्द्र यादव पक्षसँग अहिले पार्टीका कार्यकारिणी समितिमा बहुमत रहेको छ । तर ठाकुर पक्षका नेता डा. झाले गरेको दावी अनुसार यादव पक्षबाट नेता तानेर बहुमत पुर्याउने देखिन्छ ।
जसपा छोडेर हृद्येश त्रिपाठीसहित राजपा ब्यूँताउन लाग्नु भएको हो भन्ने जिज्ञासामा ठाकुर निकट नेता डा. झाले तत्कालै आफूहरू त्यो बाटोमा नजाने स्पष्ट पारे । उनले उपेन्द्र यादव अरूको इसारामा चलेर पार्टीको जीवन संकटमा परेको टिप्पणी गरे । पहिलो वरियताको अध्यक्ष महन्थ ठाकुरलाई कारबाही गर्ने अधिकार यादवसँग नभएको उनको तर्क छ ।