काठमाडौं : कोभिड १९ को दोश्रो लहरबाट संक्रमित बिरामीलाई आपतकालिन अवस्थामा जोगाउन प्रयोग हुँदै आएको रेम्डेसिभिर भाइलको चर्को मूल्यमा बिक्री भइरहेको छ । कोभिड अस्पतालको चिकित्सकको निर्देशनमा मात्रै बिरामीलाई प्रयोग गरिने रेम्डेसिभिरको प्रति भाइल ५० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । मागअनुसार अस्पतालबाट उक्त इन्जेक्सन उपलब्ध नहुँदा पनि बजारमा यसको कालोबजारी उत्कर्षमा पुगेको छ ।
बजारमा अभाव देखाउदै उक्त इन्जेक्सनको सयौं दोब्बर मूल्य तोकेर बिक्री गरेको पाइएको छ । त्यो पनि च्यानल गोप्य रुपमा विभिन्न प्रकारको च्यानल मिलाएर मात्रै किन्न पाइएको उपेन्द्र सिटौंला(नाम परिवर्तन) ले बताए । कोभिड अस्पतालकै निजी फार्मेसी र बाहिरीका औषधी पसलले अत्याधिक मूल्यमा बिक्री गरी कालोबजारी गर्दैआएको सिटौंलाले बताए । कोभिडबाट संक्रमित भएका आफन्तलाई रेम्डेसिभिरको आवश्यक मात्रा अस्पतालबाट उपलब्ध नहुँदा एक भाइल २५ हजार रुपैयाँसम्म खरिद गर्नुपरेको सिटौलाले गुनासो पोखे ।
‘अस्पतालबाट औषधी उपलब्ध नहुँदा दिनभर खोजविन गरेपछि एउटा औषधी पसलबाट शनिबार र आइतबार दुई भाइल १७–१७ हजारमा खरिद गर्नुप-यो,’ सिटौंलाले भने,‘सोमबार एक भाइललाई २५ हजार तिर्नुप-यो । मंगलबारलाई आवश्यक भाइल खरिद गर्न खोज्दा ५० हजारसम्म मूल्य सुन्दा चकित भए ।’ प्रति भाइललाई ५० हजार रुपैयाँ तिर्न नसकेपछि सिटौंला दिनभर राजधानीका पसल चहारेका थिए । बसन्तपुरमा दिनभर लाइन लागेर बल्ल तल्ल सामान्य मूल्यमा एक भाइल रेम्डेसिभिर खरिद गर्न उनी सफल भएका थिए ।
रेम्डेसिभिरको कालोबजारीबाट सिटौंला मात्रै ठगिएका छैनन् । अहिले उनीजस्ता सयौं बिरामीका आफन्त ठगिन बाध्य भएका छन् । अस्पतालमा सहज रुपमा चाहिएको परिमाणमा रेम्डेसिभिरको इन्जेक्सन उपलब्ध नहुँदा बिरामीका आफन्त बाहिरका पसलहरु चहारेर प्रति भाइललाई ५० हजारसम्म तिर्न बाध्य भएका छन् ।
चावहिलका सुरज कार्कीले पनि आफन्तको उपचारका लागि अस्पतालबाट चाहिएको परिमाणमा रेम्डेसिभिर नपाउँदा बाहिरी पसलबाट प्रति भाइल ४५ हजारमा ४ थान खरिद गर्नुपरेको जानकारी दिए । ‘उपचार गर्ने चिकित्सकले ४ भाइल ल्याउन लेखेर चिट हातमा थमाए,’ कार्कीले भने,‘सरकारले आपातकालिन अवस्थामा पुगेका बिरामीलाई अस्पतालबाटै उपलब्ध हुने सूचना जारी गरेपनि मैले त्यहाँबाट एक भाइल पनि पाइन् । आफन्तको ज्यान जोगाउन विभिन्न स्रोत उपयोग गरी प्रति भाइल ४५ हजार पर्ने गरी ४ भाइल खरिद गरी चिकित्सकलाई दिए ।’
कोभिड १९ बाट संक्रमित भएर जटिल समस्या भएका र आर्थिक दृष्टिकोणले दयनिय रहेका बिरामीको शक्ति केन्द्रमा पहुँच नहुँदा रेम्डेसिभिर पाउन निक्कै कठिनाई भएको कार्कीको अनुभव छ । रेम्डेसिभिरको कालोबजारीमा अस्पतालको औषधी पसल, केही चिकित्सक र बाहिरका औषधी पसल प्रत्यक्ष रुपमा संलग्न रहेको भेटिएको छ । रेम्डेसिभिरको कालोबजारी उपत्यकामा मात्रै होइन, देशभर नै अहिले यही मूल्यमा खरिद बिक्री भइरहेको छ ।
औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले रेम्डेसिभिरको अभावका कारण बजारमा कालोबजारी भइरहेको स्वीकार गरे । उनकाअनुसार यो औषधी बाहिरी पसलमा बिक्री गर्न अनुमति दिइएको छैन् । ‘तर हाम्रो जानकारीमा पनि एक भाइललाई नै सयौं दोब्बर मूल्य लिएर कालोबजारी र ठगि भइरहेको जानकारीमा आएको छ,’ भट्टराईले भने,‘हाम्रो विभागले गृह मन्त्रालय, बाणिज्य तथा उपभोक्ता संरक्षण विभागसँग मिलेर अनुगमन पनि गरिरहेको छ । केही समातिएका पनि छन् ।’ रेम्डेसिभिरको कालोबजारी गर्ने गिरोहविरुद्ध कडा रुपमा अनुगमन भइरहेको उनले दाबी गरे ।
विभागकाअनुसार रेम्डेसिभिरको प्रति भाइललाई आयात लटअनुसार हाल ४ हजार ८ सयदेखि ५ हजार १ सय रुपैयाँसम्म तोकिएको जनाएको छ । ‘यो औषधी बाहिरी पसलमा पाइदैंन्, उपचार गरिरहेको चिकित्सकको प्रत्यक्ष निर्देशनमा अस्पतालबाटै उपलब्ध गराउने व्यवस्था गराइएको छ,’ भट्टराईले भने,‘कुनै ठाउमा अभाव भएको अवस्थामा बाहिरबाट बिरामीका आफन्तले खरिद गरेको हुन सक्छ । चिकित्सकले पनि बिरामीको गम्भिर अवस्था नबुझेर रेम्डेसिभिरको मात्रा धेरै चलाएकाले केही अभाव देखिएको छ ।’ आवश्यकताको आधारमा मात्रै उक्त औषधी प्रयोग गर्दा अभावको सिर्जना नहुने उनको दाबी थियो ।
भट्टराईका अनुसार एक साताअघिसम्म प्रति भाइललाई ५ हजार १ सय रुपैयाँ मूल्य तोकिएको थियो । प्रति भाइललाई आइतबारसम्म ४ हजार ९ सय रुपैयाँ तोकिएको थियो । यस्तै सोमबार बितरण गरिएको प्रति भाइललाई ४ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।
विभागले ८ वटा आयातकर्तालाई १ लाख २५ हजार भाइल आयात गर्न अनुमति दिएको छ । यसमध्ये एक लटमा ३ हजार, दोश्रो लटमा ४ हजार र तेश्रो लटमा २ हजार भाइल आइपुगेको विभागले जनाएको छ । बंगलादेश सरकारले अनुदानमा उपलब्ध गराएको १० हजार भाइल र आयात गर्न अनुमति पाएको आयान हेल्थकेयर प्राइभेट लिमिटेडले ल्याउन लागेको २२ हजार भाइल गरी ३२ हजार भाइल यसै साताभित्र नेपाल आइपुग्दैछ । यो औषधी आइपुगेको अवस्थामा प्रति भाइल ४ हजार ८ सय भन्दा सस्तो मूल्यमा बिरामीले पाउने भट्टराईले जानकारी दिए ।
नेपालमा रेम्डेसिभिर आयात गर्दैआएको एक आयातकर्ता कम्पनीकाअनुसार भारत सरकारले रेम्डेसिभिरको निर्यातमा प्रतिवन्ध लगाएका कारण आयातकर्ताहरुले अहिले बंगलादेशबाट यो औषधी आयात गरिरहेका छन् । भारतमा समेत यो औषधीको चर्को अभाव भएकाले बंगलादेशबाट आयात गरिरहेको छ ।
‘रेम्डेसिभिर उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको चर्को अभाव हुँदा बंगलादेशबाट पनि यो औषधी चाहिएको परिमाणमा आयात गर्न ठूलो समस्या सिर्जना भएको छ,’ ति आयातकर्ताले भने । आयातकर्ताकाअनुसार बंगलादेशबाट आयात गरिएको औषधीको प्रति भाइलको सरकारी मूल्य ५ हजार १ सय रुपैयाँसम्म छ । योभन्दा बढी मूल्य असुल्ने अस्पताल र कालोबजारीलाई तत्कालै सरकारले कानुनी दायरामा ल्याएर कडा कारवाही गर्नुपर्ने ति आयातकर्ताले सुझाव दिए । उनका अनुसार एक बिरामीलाई ६ वटा भाइल आवश्यक पर्छ । यो औषधीको अन्य मुलुकमा पनि चर्को अभाव भएको छ ।
आयातकर्ताले आयात गर्ने रेम्डेसिभिर सोझै कोभिड अस्पताललाई उपलब्ध गराउने सरकारले व्यवस्था गरेको उनको भनाई छ । ‘हामीबाहेक अन्य समूहले पनि विभिन्न मुलुकबाट चोरी निकासी गरी रेम्डेसिभिर आयात गरिरहेका छन्,’ ति आर्यातकर्ताले भने,‘उनीहरुले मौकाको फायदा उठाएर प्रति भाइललाई ६० हजार रुपैयाँसम्म लिने गरेको हामीलाई पनि जानकारी आएको छ ।’
इबोला, हेपाटाइटिस सी, एड्स, सार्स, मर्सलगायतका रोगविरुद्ध रेम्डेसिभिरको परीक्षण प्रयोग हुँदै आएको छ । पछिल्लो समयमा गत् बर्ष अमेरिकाको फुड एण्ड ड्रग एडमिनिष्ट्रेशन(एफडीआई) र विश्व स्वास्थ्य संगठनले यो औषधीको प्रयोगले कोभिडको संक्रमणबाट गम्भिर अवस्थामा पुगेका बिरामी पनि निको हुने ठहर गरेको थियो । ति दुवै निकायले कोभिडका कारण आपातकालिन अवस्थामा पुगेका बिरामीलाई यो औषधी प्रयोग गर्न सिफारिश गरेको थियो ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनको टोलीले थप गहन अनुसन्धानको क्रममा कोभिडबाट संक्रमित भएका बिरामीमा यो औषधी प्रयोग गर्दा पनि त्यति प्रभावकारी नभएको अर्को प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।