पाल्पा : स्याङजाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित बिर्घा स्वास्थ्य चौकीलाई २२ लाख रुपैयाँभन्दा बढी रकम जुटेको छ । सामाजिक सञ्जाल फेसबूकबाट आह्वान गर्दा यो रकम जुटेको हो ।
हेलो बिर्घा फेसबूक पेजमार्फत गरिएको आह्वानमा मंगलबारसम्म २२ लाख १० हजार १५९ रुपैयाँ रकम जुटेको पेजका एडमिन अनन्त पाण्डेले बताए । उनका अनुसार स्वास्थ्य उपकरणसहितका सामग्री पनि सहयोगस्वरूप प्राप्त भएका छन् ।
१२ वटा शय्या, १२ थान अक्सिजनका सिलिण्डर, कन्सन्ट्रेटर मेसिन एक थान, ह्वीलचेयर एक थान, रक्तचाप र मधुमेह परीक्षण गर्ने मेसिनसहितका विभिन्न उपकरण र औषधिसमेत प्राप्त भएको उनले बताए । सहयोग आउने क्रम चलिरहेको छ ।
कोभिड–१९ महामारीले यस क्षेत्रका जनता पनि प्रभावित भएपछि यो अभियान थालिएको थियो । शहरका अस्पतालमा समेत अक्सिजन नपाएर अकालमै मानिसको मृत्यु हुन थालेपछि स्वास्थ्य चौकीमै अक्सिजनसहितको उपचारको व्यवस्था मिलाउन यहाँका युवाले पहल थालेको पाण्डेले बताए ।
अभियान शुरूवात गरेको एक महिना नपुग्दै यति धेरै रकम जुटेको हो । ‘बिर्घामा अस्पताल, समयमै उपचार’ भन्दै अभियान थालिएको थियो । सहयोग गर्नका लागि बिर्घामा रहेको गरिमा विकास बैंकमा ‘हेल्लो बिर्घा राहत कोष’ नामक खाता खोलेर खाता नम्बर फेसबूकबाट सार्वजनिक गरिएको छ ।
बिर्घासहित कालिगण्डकी गाउँपालिका भित्र जन्म भइ विभिन्न पेशा, व्यवसाय तथा रोजगारका शिलशिलामा देशका विभिन्न ठाउँ तथा र बाहिरी मुलुकमा रहेका व्यक्तिले सहयोग गरेका छन् । सहयोगबाट प्राप्त भएको रकम स्वास्थ्य चौकीको स्तरोन्नतिमा खर्च गरिने पाण्डेले बताए । ‘तत्काल कोरोना संक्रमितको उपचारमा खर्च गर्छौँ’, उनले भने, ‘बचत भएको रकम स्वास्थ्य चौकी व्यवस्थापन तथा स्तरोन्नतिमा खर्च हुनेछ ।’
स्थानीय सरकार र स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल र समन्वय गरी रकम खर्च गरिने पाण्डेले बताएका छन् । – थाहा खबर