टुडेखोज, जनकपुरधाम : संघीय सरकारले गरेको बालुवा गिट्टी निकासीको निर्णय मधेसी जनताको हित विपरित रहेको प्रदेश २ का अर्थमन्त्री विजय कुमार यादवले बताएका छन् ।
उनले बालुवा गिट्टी तथा नदीजन्य पदार्थको बाहिर समेत निकासी गर्ने निर्णय अबिलम्ब फिर्ता लिन संघीय सरकारसँग माग पनि गरेका हुन् । गिट्टी बालुवा निकासीले मधेस बर्बाद हुने उनको भनाई छ । उनले चुरे संरक्षण गर्नुको साटो बर्बाद गर्ने कार्यविरुद्ध आन्दोलन गर्ने पनि चेतावनी दिए ।
नदीजन्य पदार्थ निकासी गरी व्यापार घाटा कम गर्ने भन्दै सरकारले जनतालाई मुर्ख बनाउन मात्र खोजेको मन्त्री यादवको गुनासो छ । उनले भने, ‘बाढीले सबभन्दा बढी क्षति मधेसमै हुन्छ । झन चुरे विनास भएपछि मधेस मरुभुमि बन्छ । त्यसैले यो निर्णय तत्काल फिर्ता लिनुको विकल्प छैन ।’