टुडेखोज, नुवाकोट : कोरोना भाइरसले यतिबेला देश नै आक्रान्त बनेको छ । संक्रमित भएपछि उपचारमै ठूलो रकम खर्च हुन्छ । मृत्यू भएपछि त झन परिवार नै संकटमा पर्ने गरेको छ ।
नुवाकोटको ककनी गाउँपालिकाले भने कोरोना संक्रमित र मृतक परिवारलाई राहत दिने योजना ल्याएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई २५ हजार सहयोग दिने निर्णय गाउँपालिकाले गरेको हो । संक्रमण भएकालाई पनि प्रतिव्यक्ति ५ हजार सहयोग दिनेछ ।
गाउँपालिका कार्यपालिकाको बुधबार बसेको बैठकले गाउँपालिकाभित्र कोरोना संक्रमणबाट कसैको मृत्यु भएमा वा संक्रमित भएमा आर्थिक सहयोग दिने निर्णय गरेको हो । संक्रमणको आशंका भएर पनि परीक्षण नगराइ बस्नेहरु समुदायमा थुप्रै भएकाले उनीहरुलाई परीक्षण गराउन जान प्रोत्साहन गर्नका लागि ५ हजार दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिइन ।
गाउँपालिकामा पछिल्लो एक सातामा कोरोनाबाट तीन जनाको निधन भएको बताइएको छ । उनीहरुका परिवारलाई पनि २५ हजारका दरले आर्थिक सहयोग गर्ने उपाध्यक्ष खतिवडाले बताइन् । उनका अनुसार कोरोना नियन्त्रणका लागि आवश्यक प्रयास पनि जारी छ ।