वीरगञ्ज : ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरका हरेराम खड्काले सगरमाथा आरोहण गरेका छन् । सन् २००५ देखि ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएका खड्काले भारतीय र नेपाली गरी करीब ३० जनाको समूहसँग जून १ तारिखका दिन विश्वकै सर्वोच्च शिखर आरोहण गर्न सफल भएको टेलिफोनमार्फत जानकारी दिए ।
खड्काले वीरगञ्ज महानगरपालिका र ठोरी गाउँपालिकाको नाम अङ्कित ब्यानर चुचुरोमा मङ्गलवार बिहान १० बजे फहराएका थिए । यस वर्ष प्रतिकूल मौसमका कारण धेरै विदेशी पर्यटक चुचुरो नपुगेर आधार शिविरबाट फर्किएका खड्काले जानकारी दिए । यद्यपि दुई दिन मौसम अनुकूल हुँदा आफूहरू चुचुरोमा पुग्न सफल भएको उनले बताए ।
सगरमाथा आरोहणपश्चात् चुचुरोबाट नजीकै रहेको अन्तिम आधार शिविर आइपुगेका खड्काले सगरमाथा आरोहण गरेको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी र ठोरी गापाका अध्यक्ष पद्मलाल श्रेष्ठलाई फोनमार्फत जानकारी गराएका थिए ।
खड्कालाई वीरगञ्ज महानगरले रु २ लाख ५० हजार र ठोरीले रु २ लाख नगद सहयोग गरेका थिए । गत चैत २९ गतेदेखि सगरमाथा आरोहण आरम्भ गरेका खड्का ५० दिनभन्दा बढी समय लगाएर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् ।
सगरमाथा आरोहण पछि प्रदेश नं। २ कै पहिलो आरोही बन्ने छ्न । ठोरी गाउँपालिका लाई संसार माझ चिनाउन आफुले सगरमाथा आरोहण गर्ने लक्ष्य राखेको उनले बताएका थिए । करीब १५ बर्षदेखी हिमाली क्षेत्रमा रहेर काम गरेका उनले ६ हजार, देखि ७ हजार ५ सय मीटर सम्मका हिमालहरु आरोहण गरिसकेका थिए । – यात्रा डेलीबाट