टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष आज पनि सरकारमा सहभागी नहुने वातावरण सृजना भएको छ ।
उपेन्द्र यादव समूहबाट उमाशंकर अरगरिया र विमल श्रीवास्ताव महन्थ ठाकुर समुहमा पुगेका थिए । तर अरगरिया र श्रीवास्तावसँग सल्लाह नै नगरी ठाकुर पक्षले मन्त्रालयको टुंगो लगाएपछि विवाद चुलिएको हो ।
वरिष्ठ नेता महतोलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिइएको छ । शरतसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र अनिलकुमार झालाई सहरी विकास मन्त्री बनाउने तयारी गरिएको छ । यस्तै अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय र श्रीवास्तावलाई खानेपानी मन्त्रालय दिने ठाकुर पक्षले बताएको छ ।
तर सल्लाह नै नगरी मन्त्रालय टुंगो लगाएको भन्दै अरगरिया र श्रीवास्तावले शपथ नलिने चेतावनी दिएको स्रोतले जनाएको छ । अहिले ठाकुर पक्ष मिलाउने प्रयासमा छन् । अरगरिया र श्रीवास्तावले मन्त्रालय परिवर्तन नगरे शपथ नलिने अडान लिएको स्रोतको दावी छ ।
अरगरिया र श्रीवास्तावले चाहेको मन्त्रालय नपाए सरकारमा सहभागी नहुने बुझिएको छ । मन्त्रालयको विवाद मिलाउन नसके आज पनि महन्थ पक्ष सरकारमा सहभागी हुन नसक्ने स्थिति बनेको छ ।