काठमाडौं : सहरी विकास मन्त्रालयसहित उपप्रधानमन्त्री नियुक्त महतोले आफूले मधेसको माग र मुद्दाका बारेमा काम गरिररहेको र त्यसकै आधारमा सरकारमा सहभागी हुन लागेको बताएका छन् ।
संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले मधेसको माग मुद्दाकै बारेमा काम गरेका हौं । पहिले पनि त्यसैको आधारमा सरकारमा गयौं । केही कार्यान्वयन भए केही बाँकी छन् । अब तिनलाई पनि हामी सरकारमा गएर कार्यान्वयन गर्छौं ।’
उनले भविष्यमा पनि आफूहरुले मुद्दा केन्द्रित भएरै काम गर्ने बताए । उनले पार्टीको मूल प्रवाह र बहुमत आफूहरुसँगै रहेको पनि दाबी गरे । ‘पार्टीको मूल प्रवाह भनेको हामी हो । हामीसँग ७० प्रतिशत पकड छ,’ उनले भने ।
उनले आफूहरु सरकरमा जाँदा पार्टी नफुट्ने र जसपा नै रहने दाबी गरे । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आजै साँझ उपप्रधानमन्त्रीको शपथ लिँदैछन् ।
आजै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको पार्टीको समझदारी भएपछि जसपाका ८ मन्त्री र २ राज्यमन्त्री हुने तय भएको हो । आजै साँझ नवनियुक्त मन्त्रीहरुको शपथ हुँदैछ ।