पर्सा : कोरोना महामारीबीच पनि मानव बेचबिखन तथा ओसारपसारमा संलग्नहरू सल्बलाएका छन् । शुक्रबार पर्सामा दुई अभियुक्तले युवती बेच्न लैजाँदै गरेको खुलेको छ । पक्राउ पर्ने उनीहरू श्रीमानश्रीमती हुन् ।
गोरखा घर भएका २० र २२ वर्षका दुई युवतीलाई ललाफकाई नेपालगञ्ज हुँदै वीरगन्ज ल्याइपुर्याएको समयमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूको गन्तव्य भने वीरगन्ज हुँदै भारतको बेतियातर्फ रहेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । अभियुक्तहरूलाई वीरगन्जको इनरवामा खटिएका सुरक्षाकर्मीले शंकराचार्य गेट नजिक चेकजाँच गर्दा पक्राउ गरेका खनालले बताए ।
पक्राउ परेका अभियुक्तमा भारत बिहार पूर्वी चम्पारण थाना पहाडपुर, ग्रामपञ्चायत अहिरओलिया गोदाम वडा नम्बर ४ का २७ वर्षीय अस्गर सैफी र निजकी श्रीमती तनहुँ दमौली नगरपालिका ५ की सकिना खातुन भनिने सीता थापा क्षत्री रहेका पर्सा प्रहरीले जनाएको छ । नेपालगञ्जमा कन्या पूजा छ, कन्या पूजामा १ घण्टाका लागि जाँदा ५० हजार दिने भनी फकाएर उनीहरूले गोरखाका ती युवतीहरूलाई घरबाटै हिँडाएका खनालले बताए ।
‘पछि पैसाचाहिँ वीरगन्जमा पाइन्छ भन्दै वीरगन्जसम्म फेरि ल्याएछन् । यहाँ पनि पैसा मिलेन भारतको वेतियामा नै जाउँ त्यहीँ पैसा पाइन्छ भन्दै लिएर जाँदै गरेको अवस्थामा नाकामा नै पक्राउ गरिएको हो,’ खनालले भने ।
पक्राउ परेका अभियुक्तद्वयलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कसुर अभियोगमा मुद्दा दर्ता गरिएको छ । उनीहरूलाई शुक्रबार नै पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान पनि बढाइँदै गरिएको पर्सा प्रहरीले जनाएको छ ।